• १२ साउन २०८१, शनिबार

यस्तो पनि गुरुदक्षिणा !

blog

‘बोधिसत्व’ कसैको नराम्रो नसोची, सबैको चित्त बुझाई, राम्रो बोधिज्ञान प्राप्त भई बोधिसत्व मार्गमा पुग्न सकिन्छ भन्ने कथामा आधारित नाटक हो । मानिसले आफ्नो भोगविलास र तृष्णाका लागि अनेकौँ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नास नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने कुरा नाटकमा उजागर गर्न खोजिएको छ ।

गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नका लागि जीवन र जगत्लाई जसरी सरल भाषामा बुझ्नुभयो, त्यही कुरालाई हामीले पनि बुझ्न सके र लागु गर्न सके सधैँ खुसी हुन सक्छौँ भन्ने विषयको वरपर नाटकको कथा घुमेको छ । नाटकले समाजमा राम्रा स्वभाव भएका मानिस पनि परिबन्द र वचनको सिकारमा परेपछि कसरी हिंसात्मक बाटो अवलम्बन गर्न बाध्य हुन्छन् भन्ने चित्रण गरिएको छ । समाज र गलत मानिसका कुरा सुनेर गुरुले आफ्नो चेलासँग गुरु दक्षिणाका रूपमा हिंसाको नीति अपनाउँछन् । गुरुले मागेको गुरु दक्षिणा चेलालाई जसरी पनि पूरा गरेर आफू उत्कृष्ट शिष्य बन्ने तृष्णा पलाएपछि हिंसाको बाटोमा हिँड्न बाध्य हुन्छन् । 

समस्त प्राणीलाई माया, प्रेम र स्नेह गर्ने नाटकका प्रमुख पात्र अहिम (सुदन मुणिकार) कसरी एउटा असल चेलाबाट हिंस्रक बन्न पुग्छन् भन्ने नाटकको प्रमुख विषय हो । अहिमलाई गुरुले गुरुदक्षिणा बदलामा मान्छेका १०८ बुढीऔँला ल्याउनू भनेर आदेश दिन्छन् तर अहिमलाई थाहा छैन, यस्तो गुरुदक्षिणा गुरुले किन माग्नुभएको ? अन्य चेलामध्ये असल अहिमले गुरुको आज्ञा पालन नगर्ने कुरै हुँदैन । 

उहाँ गुरुदक्षिणाका लागि तुरुन्तै तयार भइहाल्नुहुन्छ । गुरुले आखिर किन त्यस्तो गुरुदक्षिणा माग्नुभयो ? उहाँ प्रश्न गर्नतिर लाग्नुहुन्न । केवल उहाँलाई गुरुको आज्ञा पालन गर्नु छ । त्यसपछि उहाँ यताउता केही सोच्नुहुन्न, केवल गुरुदक्षिणा नै जीवनको अन्तिम लक्ष्य भइदिन्छ । अहिमसँग गुरुले त्यस्तो असम्भव जस्तै देखिने गुरुदक्षिणा माग्नुहुन्छ । 

गुरुको आज्ञालाई शिरोपर गर्ने अहिमले गुरुदक्षिणाका लागि कस्तो सङ्घर्ष गर्लान् ? अहिमले गुरुलाई गुरुदक्षिणा देलान् त ? बोधिसत्व नाटक यिनै प्रश्नको उत्तर खोज्नमा रुमलिएको छ । रिस, राग, द्वेष, महत्वाकाङ्क्षाले कस्तो परिणाममा पु¥याउँछ भन्ने विषय पनि नाटकभित्र भिन्न तरिकाले चित्रण गरिएको छ । नाटकमा अहिंसाको बाटोमा हिँडेकाहरूलाई सद्मार्गमा कसरी ल्याउने भन्ने विषय पनि प्रस्तुत छ । बौद्ध धर्म अन्तर्गत व्रजयानी, महायानीहरू जो व्यक्ति बुद्धत्व प्राप्त गर्ने क्रममा छ, बुद्ध बन्ने बाटोमा हिँड्दै छ र बुद्ध नबनी लोककल्याणमा लागिरहेको छ, त्यो चरणलाई ‘बोधिसत्व’ भनिन्छ । नाटकले ठ्याक्कै बौद्ध धर्मकै सिद्धान्त अँगालेको छैन । सिद्धान्तबाट थोरै प्रेरित भने पक्कै छ । यसलाई हामी आममानिसको जीवनशैलीका रूपमा चित्रण गर्ने प्रयास गर्न सक्छौँ  । 

बुद्धको जीवन–कहानीका एक पात्र अङ्गुलीमालको सन्दर्भलाई कथाका रूपमा लिइएको छ । बौद्ध धर्ममा सबैको औँला काट्दै, औँलाको माला लगाएर हिँड्ने पात्र हुन्, अङ्गुलीमाल । कथा अङ्गुलीमालकै सेरोफेरामा घुमे पनि पात्रलाई अङ्गुलीमाल नै भनेर स्थापित गरेका भने छैनौँ । 

वास्तवमा उहाँको नाम पनि अङ्गुलीमाल हुँदैन । उहाँ अन्य केही हुन् । नाटकमा उहाँको नाम अहिम राखिएको छ । आसुरी स्वभावका रूपमा चिनिएका अङ्गुलीमाल आखिरमा को हुन् ? उहाँ किन त्यस्तो हिंस्रक बने भन्ने नाटकको कथासार हो । कोही पनि जन्मँदै नराम्रो हुने होइन, कोही किन नराम्रो हुन पुग्छ ? के–के गर्छ ? अङ्गुलीमालको हकमा उहाँ को हुनुहुन्थ्यो ? के हुन्छ ? कसरी हिंस्रक बन्नुहुन्छ ? बुद्धलाई कहाँ, कुन बेला भेट्नुहुन्छ ? र, त्यसपछि पनि के के भयो, यावत् विषयमा नै नाटकको कथा बुनिएको छ । 

अहिले मान्छेले आफ्नो जीवनमा क्षणिक खुसीका लागि विभिन्न उद्देश्य राखेर अघि बढ्ने क्रममा आफूलाई झन्झन् दुःखतिर धकेलिरहेको अवस्था छ । मान्छे दुःख भयो भनेर झन् त्यो कुरा सोचेर फेरि त्यसमै धकेलिरहेको हुन्छ । आफ्नो स्वार्थ र खुसीका लागि मान्छेले नराम्रो कर्म नै गरिरहेको हुन्छ । वास्तवमा मान्छेले आफ्नो जीवनमा अरूको हितका लागि गर्नु पर्छ । मनमा बोधिचित्त उत्पन्न गर्नु पर्छ अर्थात् राम्रो चित्त बनाई सबैको उपकार गर्नु करुणा हो । कसैको कुभलो नचिताई राम्रो चित्त राख्नाले बोधिज्ञान प्राप्त भई बोधिसत्व मार्गमा पुग्न सकिन्छ भन्ने कुरा नाटक ‘बोधिसत्व’ मा पाइन्छ । 

अहिमबाहेक नाटकमा अन्य तीन/चार प्रमुख पात्र छन्; जसमध्ये जयारी भन्ने महिला पात्र हुनुहुन्छ, जो अहिमलाई बेजोड माया गर्नुहुन्छ । अहिमलाई हिंसाको बाटो नलाग्न र त्यसबाट बचाउन उहाँ अनेकन जुक्ति अपाउनुहुन्छ तर पनि सफल हुनुहुन्न । अहिमले हिंसात्मक बाटो अपनाउनुमा उहाँका गुरुको कस्तो भूमिका रहन्छ ? जयारीको भूमिका अन्त्यसम्म कस्तो रहन्छ ? लगायतका कुरा पनि नाटकमा जोडिएका छन् । 

सांस्कृतिक नृत्यलाई सृजनात्मक रूपमा कसरी नाटकमा प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा पनि नाटकमा देखाइएको छ । नाटकभित्र चर्या नृत्य समावेश छ । जसले नाटक अझ सुन्दर र सशक्त बनेको छ । धेरै दर्शकलाई चर्या नृत्यबारे थाहा नहुन सक्छ, नाटकमार्फत दर्शकले चर्या नृत्यबारे नयाँ जानकारी पाउन सक्नुहुने छ । 

अहिंसाको बाटोमा हिँडेकाहरूलाई सद्मार्गमा कसरी ल्याउने भन्ने विषयलाई नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक नृत्य गुरु चन्द्रमान मुनिकारले फरक ढङ्गमा नाटकको कथामा पस्कनुभएको छ । नाटकमा उहाँको मेहनत धेरै देखिन्छ । त्यस्तै कलाकार सुदिनमान मुनिकारको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ ।  नाटकभित्र अर्को बिर्सनै नहुने कलाकार हुन्– अनिसा श्रेष्ठ । उहाँले गर्नुभएको मयूरको नृत्यको भूमिकाले धेरैलाई प्रभावित पार्छ । अन्य कलाकारहरू सङ्गीता थापा, नानुमैँया महर्जन, युवाहाङ राई, सृजना शर्मा, अन्जु श्रेष्ठ, अजय लामा, सन्तोष गिरी, नवीन काफ्ले र आकाश नेपालीको अभिनयलाई पनि हामीले बिर्सन हुन्न । नाटकमा निरज शाक्य र यचु शाक्यको सङ्गीतले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ भने इँगिहोपो कोँयच सुनुवारको प्रकाश परिकल्पना तथा परिचालनले नाटकलाई धेरै माथि उठाउने काम गरेको छ ।