• २७ भदौ २०८२, शुक्रबार

संविधानमार्फत नै जेन–जी पुस्ताको आकांक्षा पूरा हुन्छ : पूर्व राष्ट्रपति यादव

blog

पूर्व राष्ट्रपति डा. रामवरण यादव । फाइल तस्बिर

गोरखापत्र अनलाइन 

काठमाडौं, भदौ २७ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले २०८२ भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले मुलुकलाई कम्पित बनाएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ। 

राजनीतिक तथा प्रशासनिक अन्योल अन्त्य गर्दै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार निकायले ढिलाइ नगर्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नेपालको संविधान २०७२ र त्यसले दिएको मार्गचित्र नै यो संकट समाधान गर्ने एक मात्र उपाय हो। यही संविधानको सही कार्यान्वयनबाट ‘जेन–जी’ पुस्ताका आकांक्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ।”

उहाँले ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारलाई धैर्यधारणको शक्ति मिलोस् भनी कामना गर्नुभएको छ।

उहाँले यस्तो गतिविधिले सिंगो मुलुकलाई कम्पित र स्तब्ध तुल्याएको उल्लेख गर्दै अकालमै ज्यान गुमाउने युवाहरूको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । 

डा. यादवले वक्तव्यमा भन्नु भएको छ, “युवाहरूको आन्दोलन भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका लागि भएको थियो। तर, आन्दोलनका नाममा भएको विनाश र विध्वंसको कारण र कर्ता पहिल्याउनु आज अपरिहार्य छ।”

उहाँले सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, प्रदेश सभा, स्थानीय तहका संरचनालगायत देशका संवैधानिक र ऐतिहासिक धरोहरमा गरिएको तोडफोड नियोजित देखिएको भन्दै यसको वास्तविक उद्देश्य र कारकहरू पहिचान गर्नु राष्ट्रको एकता, अमनचयन र सुरक्षित भविष्यका लागि जरुरी भएको टिप्पणी गर्नुभयो।

आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिले लाखौंलाई रोजगारी दिने संरचना मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का पुराएको भन्दै डा. यादवले यस्तो प्रवृत्तिबाट देशलाई जोगाउन सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ।