रामकृष्ण बोहरा
बागलुङ, भदौ २७ गते । जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संवैधानिक बाटो अपनाउनुपर्ने भन्दै नेपाल बार र पत्रकारले पहल थालेका छन् । शुक्रबार दिउँसो उच्च अदालत बार इकाई बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संयुक्त रुपमा मौन र्याली निकाल्दै संवैधानिक मार्ग खोज्न राज्यको ध्यानाकर्षण गराएका हुन् ।
कालोकोट लगाएका कानुन व्यवसायीको साथमा पत्रकारले हातमा संविधानको किताव बोकेर र्याली आयोजना गरेका हुन् । ‘राष्ट्र बचाऔ, संविधान जोगाऔं’ अंकित प्लेकार्ड पनि उनीहरुले बोकेका थिए । उच्च अदालत बार एसोसिएसन बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङले अभियानका अन्य क्रियाकलापमा बार र महासंघ सँगैजाने योजनामा सुनाएका छन् ।
तीन दिनदेखि बागलुङमा दिउँसो निशेधाज्ञा र रातमा कर्फ्यू लागेको छ । निशेधाज्ञाका बाबजुद कानुन व्यवसायीले शुक्रबार कालो कोट लगाएर, हातमा संविधानको किताब समात्दै दबाव दिएका छन् । उनीहरुले संविधान बचाउन सकियो भने संविधानले देश बचाउने भनेका छन् ।
उच्च अदालत बार एसोसिएशनका अध्यक्ष गीता श्रीष र नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’ ले र्यालीको नेतृत्व गर्नुभएको थियो ।