गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २७ गते । नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन अनुरोध गरेको छ ।
नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै आगजनी, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन अनुरोध गरेको हो ।
भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क भएमा नेपाल पुलिसइन्फो एट जिमेल डट कममा पठाउन प्रहरीको अनुरोध छ । तस्विर, भिडियो सामाजिक सञ्जालको लिङ्क पठाउनेको गोपनीयता कायम रहने प्रहरीले सूचनामा उल्लेख गरेको छ ।