• २७ भदौ २०८२, शुक्रबार

पत्रकार कुटपिट गर्ने वडाध्यक्षसहित एक पक्राउ

blog

पत्रकारमाथि कुटपिट गर्ने वडाअध्यक्ष र अर्का स्थानीय ।

सल्यान, भदौ २७ गते । सल्यानका पत्रकार नोखिराम थापामाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शारदा नगरपालिका –६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता भिकराज बुढाथोकी र प्रमोद भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्सपेक्टर बावुराम बस्नेतले उनीहरूलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । 

भदौ २२ गते राति करिब ९ बजे श्रीनगर बजारस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका बेला कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक थापामाथि भण्डारी र बुढाथोकीले आक्रमण गरेको आरोप छ । कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ । उहाँ उपचाररत हुनुहुन्छ ।

पीडित पत्रकार थापाले केही दिनअघि मात्र ‘श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको’ विषयमा समाचार प्रकाशित गरेका थिए । सोही समाचारलाई आधार मानेर आफूलाई लक्षित गरेर कुटपिट गरिएको उहाँको दाबी छ । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाउँदै दोषी पुष्टि भए कानुनबमोजिम कारबाही हुने बताएको छ ।

यसैविच पत्रकार कुटपिटमा संलग्न दोषीलाई कानुनी कार्वाही गर्न नेपाल पत्रकार महासंघसहित जिल्लामा क्रियाशील पत्रकार संघ संगठनले प्रशासनसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा, सल्यानका अध्यक्ष डिल्लीराज रावतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार थापा बेलुका रिपोर्टिङ गरेर खाना खान श्रीनगरको होटल करुवामा पुगेका बेला शारदा नगरपालिका–६ का वडाअध्यक्ष भिकराज बुढाथोकी र सोही ठाउँका स्थानीय प्रमोद भण्डारीसहितको ५–६ जनाको टोलीले उहाँमाथि कुटपिट गरेको थियो ।

आक्रमणले प्रेस स्वतन्त्रतामाथि नै आघात पुगेको भन्दै जिल्ला र प्रदेशस्तरका पत्रकार संघ तथा विभिन्न पेशागत संगठनहरूले आपत्ति जनाएका छन् ।