केदार तिमल्सिना
बनेपा, भदौ २७ गते। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले स्रोत नखुलेको नगद र सुनको गहनासहित एक जनालाई पक्राउ गरेको छ।
नेपाली सेना र प्रहरी चौकी भकुन्डेबेशीको प्रहरी टोलीले शुक्रबार दिउँसो सवारी चेकजाँच गर्ने क्रममा काठमाडौंबाट सिराहातर्फ जाँदै गरेको बाप्र०१००६ ख ९१७३ नम्बरको इभी चेकजाँच गर्ने क्रममा नगद तीन लाख पचास हजार तीन सय रुपियाँ र सुनका गहनासहित एक जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले स्रोत नखुलेको नगद र सुनका गहनासहित सिराहा गमरिया नगरपालिक–२ बस्ने नरेशकुमार यादवलाई पक्राउ गरेको हो।
प्रहरीले यादवले बोकेको झोलामा स्रोत नखुलेको नगद र सुनका विभिन्न गहना बरामद गरेको जनाएको छ। प्रहरीले यादवको साथबाट तीन लाख ५० हजार तीन सय नगदसहित एक लाख ६१ हजार ८८८ रुपियाँ बराबरको छड्के तिलहरी एक थान, दुई लाख ५९ हजार रुपियाँ बराबरको मङ्गलसुत्र एक थान बरामद गरेको हो। यस्तै तीन लाख तीन हजार ९७९रुपियाँ बराबरको बेरुवा औँठी एक थान, पाँच लाख एक हजार २५० रुपियाँ बराबरको सिक्री तीन थान बरामद गरेको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा काठमाडौंमा लुटपाटका घटना भएकोले स्रोत नखुलेको नगद र सुन बरामद गरिएकोले कतै लुटपाट गरिएको नगद र सुन हो कि भन्ने आशंका गरिएको छ।