• २७ भदौ २०८२, शुक्रबार

राष्ट्रिय सम्पत्ति र सम्पदा खरानी

blog

जेनजी पुस्ताको प्रदर्शनका क्रममा गत मङ्गलबार आगजनी तथा तोडफोडले क्षतिग्रस्त देशकै मुख्य प्रशासनिक केन्द्रको पुनर्निर्मित मुख्य सिंहदरबार भवन र सवारीसाधन । तस्बिर : कविन अधिकारी

काठमाडौँ, भदौ २७ गते । ‘जेनजी समूह’ को नाममा मङ्गलबार भएको प्रदर्शनमा आगजनी र लुटपाट हुँदा काठमाडौँ उपत्यकामा रहेका मुख्य सरकारी भवनमा ठुलो क्षति पुगेको छ । आगजनीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेर नष्ट भएका छन् ।

प्रदर्शनका क्रममा मुलुकको सर्वोच्च संस्था राष्ट्रपतिको कार्यालय र प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयसहितका सरकारी भवनमा ठुलो क्षति पुगेको हो । महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्रीनिवास, टङ्गालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ललितपुरको भैँसेपाटीस्थित मन्त्री तथा प्रदेश प्रमुखहरूको आवास, नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन, रामशाहपथस्थित सर्वोच्च अदालत आगजनीबाट ध्वस्त भएका छन् । त्यसै गरी रामशाहपथमै रहेका महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत, सहरी विकास तथा भवन विभागको कार्यालय, सडक विभागको कार्यालय आगजनीबाट ध्वस्त भएका छन् । यी कार्यालयमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, चल सम्पत्ति जलेर नष्ट भएका छन् । बबरमहलस्थित सहरी विकास तथा भवन विभागको केन्द्रीय कार्यालय परिसरमा रहेका छ वटा भवन आगजनी, तोडफोड र लुटपाटबाट क्षतविक्षत भएको विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय परिसरमा रहेका ५० वटा गाडीसमेत जलेर नष्ट भएका छन् ।

पुनर्निर्माणको दुई वर्षमै खरानी

विक्रम संवत् २०७२ को भूकम्पले क्षतिग्रस्त बबरमहल दरबार पुनर्निर्माण भएको दुई वर्षमै आगजनीले खरानी बनेको छ ।  लन्डनको बकिङ्घम दरबारको स्वरूपमा निर्माण गरिएको करिब एक सय वर्ष पुरानो सो भवन मुलुककै पुरातात्त्विक सम्पदामध्ये एक हो । ऐतिहासिक कलाकृतिसमेत रहेको यस भवनको ‘नियो क्लासिकल’ युरोपेली शैलीमा प्रबलीकरण गरिएको थियो ।

सम्पदाकै रूपमा रहेकाले सो भवन नभत्काई प्रबलीकरण गरिएको थियो । ८६ करोड रुपियाँ लागतमा दुई वर्षअघि मात्र सो भवनको पुनर्निर्माण सम्पन्न भएको थियो । सडक विभागका अनुसार आगजनीका कारण यस भवनको आधाभन्दा बढी भाग मर्मतै गर्न नसकिने गरी ध्वस्त भएको छ । विभागका उपमहानिर्देशक अर्जुन अर्यालले अहिले भवनमा भएको क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भवनमा रहेको ‘डाटा सेन्टर’ भने सुरक्षित रहेको छ ।

भूकम्पपछि न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार विशेष सावधानी अपनाउँदै यस भवनको प्रबलीकरण गरिएको थियो । स्टिल प्रयोग गरी भवन दह्रो बनाई सुर्की र चुनले प्लास्टरसँगै प्रबलीकरण गरिएको थियो । विकसित देशमा बढी प्रयोग भएको ‘कार्बन फाइबर’ लगायत परम्परागत सामग्री प्रयोग गरी यो भवनको प्रबलीकरण गरिएको थियो ।

करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको बबरमहल भवनमा करिब तीन सय कोठा छन् । यसअघि १९९० सालको भूकम्पले पनि बबरमहलमा क्षति पु¥याएको थियो । त्यसबेला पनि सो भवनको पुनर्निर्माण गरिएको थियो । भवनको उचाइ तीन तलाको छ ।

बबरमहल रहेको स्थानमा जङ्गबहादुर राणाले त्यसअघि नै दरबार बनाउन लगाएका थिए । १९३३ साल फागुनमा जङ्गबहादुरको मृत्युपछि पनि यो दरबारमा उनका रानी, महारानी र छोराछोरी बसिरहेका थिए । १९४२ सालमा शमशेर खलकले विद्रोह गरेपछि जङ्गबहादुरका सन्तान लाखापाखा लागे । त्यसपछि यो दरबार देवशमशेरको स्वामित्वमा पुगेको इतिहासकार पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ  ।

१९५८ सालमा देवशमशेरलाई पदमुक्त गरिएपछि तत्कालीन शासक चन्द्रशमशेरले दरबारमाथि आँखा लगाए । जङ्गबहादुरले बनाएको पाँचतले दरबार १९६६÷६७ सालतिर तोडफोड गरी तत्कालीन इन्जिनियरहरू कुमारनरसिंह राणा र किशोरनरसिंह राणाबाट महल तयार गराई चन्द्रशमशेरले आफ्नो छोरा बबरशमशेरलाई दिएको इतिहासकार जबराको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ भन्ने पुस्तकमा उल्लेख छ ।