अमरराज नहर्की
तनहुँ, भदौ २७ गते । जिल्ला प्रहरी कार्यालय तनहुँले आम जनतालाई फरार कैदीबन्दीको पहिचान पाए तत्काल सूचना दिन अपिल गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गरि अपिल गरेको हो ।
जेनजी आन्दोलनको चर्को प्रभावमा मङ्गलबार साँझ तनहुँ कारागारबाट ३२७ कैदीबन्दी फरार भएका छन् । आन्दोलनकारीले दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिरहेको बेला कैदीबन्दी पनि कारागारबाट भाग्न सफल भएका हुन् ।
फरारमध्ये कतिपय सामान्य मुद्दामा सजाय भुक्तान गर्दै आएका थिए भने धेरै गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए । हालसम्म ४५ जनालाई नियन्त्रणमा लिइसकिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
जनताको सुरक्षा सुनिश्चित गर्दै फरार कैदीबन्दी नियन्त्रणमा ल्याउने प्रयासलाई प्राथमिकता दिइएको थापा बताउनुहुन्छ ।