चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा पछिल्लो तीन दिनयता लगातार कर्फ्यू जारी गरिएको छ । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएकाले सम्भावित हुलदङ्गा र अराजक गतिविधि हुन गई शान्ति सुरक्षामा खलल् आउनसक्ने भन्दै गएको बुधबारदेखि कर्फ्यू लगाइँदै आएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले शुक्रबार सूचना प्रकाशित गर्दै बेलुका ७ बजेदेखि लागु हुनेगरी कर्फ्यू आदेश जारी गर्नुभएको छ । प्रजिअ सेढाइँले जारी गर्नुभएको सूचना अनुसार शनिबार बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यू लागु हुने छ ।
पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कफ्र्यु लागु हुने सूचनामा उल्लेख छ । कफ्र्युको समयावधिभर कुनै पनि भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि गर्न नपाइने प्रजिअ सेढाइँले सूचनामा उल्लेख गर्नु भएको छ ।
उहाँका अनुसार कर्फ्यूको अवधिमा एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले भने आवतजावतका लागि सवारी साधन प्रयोग गर्न पाउने छन् । उक्त सुविधाका लागि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात हुनुपर्ने छ । यता कर्फ्यू को उल्लङ्घन गरेमा कानुनी कारबाही हुने चेतावनीसमेत प्रजिअ सेढाइँले दिनुभएको छ ।