• २७ भदौ २०८२, शुक्रबार

संवाद जारी निष्कर्षको प्रतीक्षा

blog

काठमाडौँ, भदौ २७ गते । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलनलाई सुरक्षित अवतरण गरी राष्ट्रको निकासका लागि बृहत् संवाद गरिरहनुभएको छ । अन्तरिम सरकार गठनका लागि जेनजी अभियानका तर्फबाट प्रधानमन्त्रीमा प्रस्तावित व्यक्तित्वसँग संवादको सिलसिला बिहीबार पनि जारी रह्यो । दुई दिन निरन्तर संवाद भए पनि निष्कर्षको प्रतीक्षामै दिन बित्यो ।

जेनजी आन्दोलनको रापतापमा सत्ता बदलिने परिस्थिति बनेपछि उहाँहरूसँग राजनीतिक एवं नागरिक समाजका अगुवाहरू पनि संवादमा जुट्नुभएको छ । बिहीबार दिनभरि प्रधानसेनापति सिग्देल र अभियन्ताको संवाद जारी रहँदा जङ्गी अड्डाबाहिर जेनजी अभियानका अभियन्ता र युवाको भिड लागेको थियो । अभियन्ता अलग अलग समूहमा विभाजित हुँदा झडप र तनाव पनि उत्पन्न भयो । नेपाली सेनाले एक–अर्काको आक्रमणमा उत्रिएका युवालाई सम्झाएर पठाएको थियो । 

निकास दिने प्रयासमा राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्नेमा आफू प्रयत्नशील रहेको बताउनुभएको छ । उहाँले विज्ञप्तिमार्फत लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार विमर्श एवं हरप्रयासमा लागिरहेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले आमनागरिकलाई सम्बोधन गर्दै आन्दोलनकारी नागरिकका माग सम्बोधन गर्ने र छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन आग्रह गर्नुभएको छ । उहाँले संयमपूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ । 

‘संविधानभित्रै समाधान खोजौँ’ 

नागरिक समाजका अगुवाहरूले नेपाली जनताको प्रतिनिधि संस्थाका रूपमा र संविधान संरक्षकको हैसियतले राष्ट्रपतिले नै सङ्कट समाधानको पहलकदमी लिनु अपरिहार्य रहेको बताउनुभएको छ । उहाँहरूले नेपालको वर्तमान संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक, समावेशी र समाजवादउन्मुखता जस्ता आधारभूत प्रस्तावनालाई कुनै हानि नपु¥याउन पनि आग्रह गर्नुभएको छ ।

उहाँहरूले नेपाली जनताबाट निर्वाचित प्रतिनिधिमूलक वैधानिक संस्था संसद् रहेको हुँदा यो सङ्कटको निकास पनि संविधानसम्मत प्रक्रियामार्फत हुनु पर्छ भन्ने अडान व्यक्त गर्नुभएको छ । नागरिक समाजका अगुवा नीलाम्बर आचार्य, डा. पीताम्बर शर्मा, मल्ल के सुन्दर, रत्नसंसार श्रेष्ठ, गीता त्रिपाठी, विन्दु शर्मा, सुशील प्याकुरेल, जगत देउजा, श्याम श्रेष्ठ, परशुराम तामाङ, चण्डेश्वर श्रेष्ठ, टीकाराम भट्टराई, विश्वप्रकाश भण्डारी, राजेन्द्र महर्जन, गोविन्द छन्त्याल र महेश मास्केले विज्ञप्ति जारी गरी लोकतान्त्रिक व्यवस्था रक्षार्थ अपिल गर्नुभयो । 

विज्ञप्तिमा भनिएको छ, “देशमा व्याप्त बेथिति, कुशासन, भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायतका विषयको विरोधमा यही भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनमा राज्य पक्षले जुन अनावश्यक बल र नृशंसता प्रदर्शन गरी ३० जनाभन्दा बढी नागरिकको हत्या ग¥यो, यसको हामी घोर भत्र्सना र निन्दा गर्दछौँ ।” उहाँहरूले सामाजिक सञ्जालमार्फत भिडमा उत्तेजना फैलाउने लोकरिझ्याइँवादीका अराजक अभिव्यक्ति र क्रियाकलाप पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै आन्दोलनका दुई दिनमा भएको बर्बर दमन र ध्वंसात्मक अराजकताको स्वतन्त्र, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभएको छ । उहाँहरूले राष्ट्रपतिले राष्ट्रलाई सम्बोधन गर्नुपर्नेमा प्रधान सेनापतिद्वारा सन्देश आएकाले अचम्मित पारेको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “यो कदम संविधानसम्मत नभएको हामी ठान्दछौँ । त्यसकारण नेपाली सेनाले विगतमा गरेको पेसागत व्यावसायिकताको प्रतिबद्धतालाई स्मरण गराउँदै कुनै पनि मूल्यमा नागरिक सर्वोच्चता र संवैधानिक सर्वोच्चता अन्तर्गतै रही यो सङ्कटबाट देशलाई पार लगाउनु पर्छ भन्ने पक्षमा हाम्रो दृढ विश्वास रहेको कुरा व्यक्त गर्न चाहन्छौँ ।”

जेनजी अभियन्ताको आग्रह 

जेनजी आन्दोलनका सदस्य रक्षा बमले अहिलेको परिस्थितिको निकास नेपालको संविधानसँग छैन भन्नु जेनजी आन्दोलनलाई ‘ट्र्याप’ मा पार्नु हो भन्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत यो क्रान्तिको म्यान्डेटलाई सम्बोधन गर्ने कुरा नेपालको संविधानको धारा–उपधारामा ठ्याक्कै नभएको हुन सक्ने बताउनुभएको छ । “तर संविधानवादको मर्म अनुरूपै निर्माण भएको यो संविधानले आवश्यकताको सिद्धान्तका आधारमा जेनजीका माग अनुरूप निकास दिई देश, जनता र यो संविधानको समेत रक्षा हुने अवस्था बन्छ,” उहाँले भन्नुभएको छ । 

उहाँले आफ्नो राजनीतिक स्वार्थ र सत्ताको भोगका निम्ति जनतालाई मुर्ख बनाउँदै ‘ट्र्याप’ मा पारेर लुट मच्चाएका नेता र तिनका कार्यकर्ताको कुरा कम्तीमा यस समयमा नसुन्न, नपढ्न र उनीहरूको ‘इमोसनल ब्ल्याकमेलिङ’ मा परी मानसिकता निर्माण गर्ने र सार्वजनिक प्रतिक्रिया साझा गर्ने काम नगर्न पनि आग्रह गर्नुभएको छ ।