• २७ भदौ २०८२, शुक्रबार

जनजीवन सामान्य बन्दै

blog

काठमाडौँ, भदौ २७ गते । नवयुवा (जेनजी) को नेतृत्वमा काठमाडौँलगायत देशभर भएको प्रदर्शन हिंसात्मक भई अकल्पनीय जनधनको क्षतिसँगै लगभग नियन्त्रणबाहिर पुगेको सुरक्षा अवस्था बिस्तारै लयमा फर्किन थालेको छ । मुलुकको विषम परिस्थितिलाई दृष्टिगत गर्दै थप जनधनको क्षति हुन नदिन नेपाली सेनाले मङ्गलबार रातिदेखि सुरक्षाको ‘कमान्ड’ सम्हालेसँगै थप हिंसात्मक गतिविधि रोकिएका छन् । 

आपराधिक गतिविधि नियन्त्रण गर्न सेना परिचालन भएपछि आगजनी, तोडफोड, लुटपाट र उच्छृङ्खल गतिविधि रोकिएको छ । यससँगै जनजीवन पुनः सामान्य बन्दै मुलुक फेरि शून्यबाट सम्हालिने प्रयासमा जुटेको छ । हिंसात्मक प्रदर्शनका क्रममा आगजनी र तोडफोडले ध्वस्त भएका मुलुककै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका ऐतिहासिक भवनमा लगाइएको आगो नियन्त्रणमा लिई सामान्य सरसफाइपछि ती कार्यालयको सेवा पुनः सञ्चालनको प्रयास भइरहेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाई जनजीवन सामान्य बनाउनेतर्फ प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो दायित्व शान्ति सुरक्षा कायम गरी जनजीवन सामान्य बनाउनु रहेकाले सोही अनुसार सुरक्षा तैनाथी बढाइएको छ ।” काठमाडौँ महानगरपालिकालगायतका स्वयम्सेवी संस्थाहरू आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका ऐतिहासिक संरचना र मुख्य सडक सफा गरी आवतजावत सहज बनाउने प्रयासमा जुट्न थालेका छन् । महानगरले ट्याङ्करमार्फत सडकमा रहेको खरानी पखाल्नुका साथै फोहोर सफा गर्न थालेको छ । महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सडकमा रहेका फोहोर र खरानी लगभग सफा गरी सामान्य अवस्थामा फर्काइएको र अन्य भौतिक संरचना सफाइ पनि क्रमशः हुने बताउनुभयो । 

सुरक्षा अवस्था बिस्तारै सामान्य बन्न थालेपछि महत्वपूर्ण संरचना सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी र कर्मचारी भग्नावशेष सफाइमा जुट्न थालेका छन् । उपत्यकाका अधिकांश सरकारी तथा ठुला व्यापारिक भवन आगजनी र तोडफोडबाट ध्वस्त भए पनि आसपासका निजी सम्पत्तिमा थप क्षति हुन नदिन नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कामपाको वातावरण विभाग र जुद्ध वारुणयन्त्रको टोली जुटेको छ । मुलुककै राजधानीको सुरक्षा हेर्ने उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश प्रहरी युनिट र सवारीसाधन जलेर खरानी भएका छन् । प्रदर्शनकारीले पु¥याएको अकल्पनीय क्षतिका कारण कति प्रहरी मारिए र कति हतियार लुटियो भन्नेबारे अझै यकिन भइनसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  यद्यपि ध्वस्त भएका प्रहरी युनिटलाई पुनः नियमित सञ्चालनमा ल्याई नागरिकको सुरक्षार्थ जुट्न प्रहरीले कार्यालय सफाइ र सञ्चालन प्रयास गरिरहेको छ । 

सुरक्षा व्यवस्था लयमा फर्काइँदै 

प्रदर्शनकारीले प्रहरीका हतियार लुटपाट गरी सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गरेपछि उत्पन्न विषम परिस्थिति नियन्त्रणमा लिन मङ्गलबार रातिदेखि सेना परिचालन भएको थियो । सेनाले बैङ्क तथा वित्तीय संस्थामा लुटपाट गर्ने समूहलाई नियन्त्रणमा लिई झन्डै नियन्त्रणबाहिर पुगेको सुरक्षा अवस्थालाई पुनः लयमा फर्काउँदै छ ।

सैनिक मुख्यालय जङ्गी अड्डाका अनुसार काठमाडौँ तथा मुलुकको सम्भावित सुरक्षा चुनौती विश्लेषण गरी देशभर सुरक्षा सतर्कता बढाइएको छ । सोही अनुसार सेनाले सुरक्षा तैनाथी र गस्ती बढाउँदै लगेको छ । प्रहरीबाट कति हतियार लुटिए भन्ने यकिन हुन नसके पनि ती हतियार दुरुपयोग भए अवस्था जटिल हुने भएकाले ती नियन्त्रणमा लिन सेनाले सूक्ष्म अपरेसन सुरु गरेको छ । यसै क्रममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट लुटिएका नगद, जिन्सी र हतियार सेनाले नियन्त्रणमा लिइसकेको जनाएको छ । लुटिएका हतियार नियन्त्रणमा लिन सेनाले देशभरका मुख्य नाका सूक्ष्म निगरानी गरिरहेको छ । काठमाडौँको महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट गर्ने अन्य क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न कैयौँ व्यक्तिबाट सेनाले लाखौँ रुपियाँ र झन्डै ५० थान हतियार बरामद गरिसकेको जनाएको छ ।

हतियार बुझाउन आग्रह 

आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीबाट लुटिएको वा फेलापारेका हतियार गोलीगठ्ठा वा सुरक्षा सामग्री नजिकको सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन पनि सेनाले आग्रह गरेको छ ।

त्यस्ता हतियार दुरुपयोग भई थप ठुलो जनधनको क्षति हुन सक्ने भन्दै सेनाले ती हतियारको सूचना दिन पनि सबैमा आग्रह गरेको छ । हतियार नबुझाइएको फेला पार्नसाथ त्यस्ता व्यक्ति वा समूहलाई कानुनबमोजिम कडा कारबाही गर्नेसमेत सेनाले जनाएको छ । साथै सेनाले यो संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोसाक अनधिकृत प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

अराजक गतिविधि नगर्न चेतावनी 

यसै बिच सेनाले आन्दोलनका नाममा अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड नगर्न चेतावनी दिँदै त्यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने जनाएको छ । साथै सेनाले राष्ट्रिय एकता, समाजिक सद्भाव कायम गरी जनजीवन सामान्य बनाइराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिन पनि सबैमा आग्रह गरेको छ ।