निशा राई
धरान, भदौ २७ गते । धरान उपमहानगरपालिका कारागारबाट भागेका १२ जना कैदीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जेनजी समूहको प्रदर्शन पश्चात कारागारबाट फरार भएका विभिन्न स्थानमा बस्ने १२ जना प्रतिवादीलाई ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोली, नेपाली सेना र शसस्त्र प्रहरी समेतको टोलीले भदौ २५ गते र २६ गतेको बिभिन्न समयमा धरानको विभिन्न वडाबाट फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानको प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुुभयो ।
प्रकाउ परेकाहरुमा कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहितका विभिन्न जघन्य अपराधमा सजाय भोगिरहेकाहरु रहेको उहाँले भन्नुभयो । बिहीबार धरान उपमहानगरपालिका –५ आ“पटारबाट कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका ३८ वर्षीय हर्कबहादुर राई जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते जेलबाट फरार भएका थिए ।
उनलाई नेपाली सेनाकोे टोली र इलाका प्रहरीका कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको थियो । त्यस्तै, लागूऔषध मुद्दामा कैद भोगिरहेका कैलाली धनगढी उपमहानगर –७ घर भई हाल धरान –२ बस्ने ३१ वर्षीय वसन्तराज जोशीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
फरार कैदीहरु अमन राई, सुमन केरुङ, जितबहादुर लिम्बु, मदन राई, ईश्वर कार्की, अग्नी तामाङ, युवराज लिम्बु, खड्कबहादुर कार्की, हस्तबहादुर कार्कीलगायत १२ जनालाई धरानमा लुकीछुपी रहेको अवस्थामा सेना र प्रहरीले पक्राउ गरेका थिए । केही कैदी आफै उपस्थित भएको प्रहरीले जनाएको छ ।
मंगलबार जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । शुक्रबार बिहानसम्म ३ सय ५५ जना कैदीबन्दीलाई सेनाले पक्राउ गरेका र केही आफैँ फर्किएको झुम्का कारागारका जेलर राम निरौलाले जानकारी दिनुभयो ।