कोकिला ढकाल
इलाम, भदौ २७ गते । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी मेची भन्सार कार्यालय झापामा आगजनी गरेपछि त्यसको असर निर्यात हुने चियामा परेको छ ।
भारत निर्यातका लागि भन्सारमा पुगेको २५ हजार किलो चिया पनि जलेर ध्वस्त भएको छ । निर्यातका लागि भन्सारमा पुगेको इलामका पाँच कारखानाको चिया जलेर ध्वस्त भएको सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एशोसिएसन नेपालले जनाएको छ ।
इलामका समाल भ्याली, अन्तु अर्गानिक टि, श्री अन्तु, गोर्खा र दाजुुभाइ चियाबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा परी ध्वस्त भएको एशोसिएसनका महासचिव गोपाल कट्टेलले बताउनुभयो ।
‘देशमा अन्योलता भएपछि बन्द भएको चिया कारखानाहरु आजदेखि सुचारु गरिएको छ । हरियो पत्ती नोक्सान हुने भएपछि कारखाना चालू गरियो’ महासचिव कट्टेलले भन्नुभयो ‘अब तयारी गरेर राख्नुको विकल्प छैन । चिया क्षेत्रलाई ठुलो घाटा छ ।’ विदेशबाट माग भएको चिया पनि पठाउने अवस्था नहुँदा समस्या भएको कट्टेलले बताउनुुभयो ।
चालू आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा पनि ३७ करोड ४८ लाख २४ हजार मुल्य बराबरको चिया निर्यात भएको छ । यो अवधिमा १२ लाख ९७ हजार २२ किलो चिया निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ ।