क्यानबेरा, भदौ २७ गते । अष्ट्रेलियामा ‘डिमेन्सिया’ रोगले ग्रसित हुने मानिसको संख्या आगामी वर्षमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ । ‘डिमेन्सिया’ भनेको यस्तो मानसिक अवस्था हो, जसमा व्यक्तिको सम्झना, सोच्न, निर्णय लिन र व्यवहारमा समस्या आउँछ र दैनिक जीवनमा असर पर्ने गरी मानसिक क्षमता घट्छ ।
‘डिमेन्सिया’ कुनै एकल रोग नभएर विभिन्न रोगको समूह हो, जसमा अल्जाइमर, भास्कुलर डिमेन्सिया, लेवी बडी डिमेन्सिया जस्ता प्रकार पर्दछन् । सरकारको एक रिपोर्ट अनुसार, २०६५ सम्म लगभग एक करोड १० हजार मानिस डिमेन्सियाबाट प्रभावित हुने अनुमान गरिएको छ ।
अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले अद्यावधिक गरेको ‘डिमेन्सिया इन अष्ट्रेलिया’ रिपोर्टमा यो तथ्य उल्लेख गरिएको छ । यो संख्या २०२४ मा करिब ४ लाख २५ हजारबाट २०६५ सम्म दोब्बरभन्दा बढी बढ्ने सम्भावना छ । हाल डिमेन्सियाबाट महिला पुरुषभन्दा बढी प्रभावित छन् ।
रिपोर्टअनुसार, २०२४ मा २ लाख ६६ हजार महिला र १ लाख ५९ हजार पुरुष डिमेन्सियाबाट पीडित छन्, जुन संख्या २०६५ सम्म क्रमशः ६ लाख ६२ हजार महिला र ३ लाख ९० हजार पुरुष पुग्ने अनुमान गरिएको छ । डिमेन्सिया २०२३ मा अष्ट्रेलियामा मृत्युको प्रमुख कारण रह्यो, जसले करिब १७ हजार ४०० जनाको ज्यान लिएको छ ।
यसमा १० हजार ९०० महिला र ६ हजार ५०० पुरुष रहेका छन् । रिपोर्टमा अल्जाइमर रोग, भास्कुलर डिमेन्सिया, अस्पष्ट डिमेन्सिया र लेवी बडी डिमेन्सिया जस्ता विभिन्न प्रकारका डिमेन्सिया समावेश गरिएको छ । डिमेन्सिया अष्ट्रेलियाका सीईओ तान्या बुकेननले भन्नुभयो, “यो रिपोर्टले डिमेन्सियाले अष्ट्रेलियाली परिवारमा पार्ने गहिरो प्रभावलाई प्रष्टरूपमा उजागर गरेको छ ।”
रिपोर्टले डिमेन्सियाका मुख्य हेरचाह गर्नेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको देखाएको छ । २०२२ मा करिब ४२ प्रतिशत प्राथमिक हेरचाह कर्ताले हप्तामा कम्तीमा ६० घण्टा हेरचाह पुर्याइरहेका थिए । रासस/सिन्ह्वा