लन्डन, भदौ २७ गते । बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो ।
ह्यारीले स्थापना गरेको ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, रोगग्रस्त वा सेवामा रहेका सैनिक तथा पूर्वसैनिकका लागि प्यारालिम्पिक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । युक्रेन समेत यस खेल आयोजना गर्न दावेदार मुलुकमध्ये एक हो ।
उहाँका प्रतिनिधिले आगमनको पुष्टि गर्दै सैनिकको पुनः स्थापना र उपचार प्रक्रियामा उहाँको निरन्तर सहयोग रहने जनाएका छन् । राजधानीतर्फको रात्रि रेलयात्रामा ह्यारीले गार्डियनसँग भन्नुभयो, “हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनः स्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ ।” रासस/एपी