गंगाकुमारी मिजार
रसुवा, भदौ २७ गते । नेपाल–चीनबिचको प्रमुख व्यापारिक नाका रसुवागढीमा निर्माण हुन लागेको बेलीबृजको काम आजदेखि नेपालतर्फ सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीनले आफ्नो तर्फको निर्माण सम्पन्र गरी लेन्देखोलामा डाइभर्सन तयार गरेसँगै चिनियाँ प्राविधिक र कामदार नेपाल प्रवेश गरी काम अघि बढाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार बिहीबार डाइभर्सन निर्माण सम्पन्न भएपछि चीनको केरुङमा काम गर्दैआएका १ सय ६३ जना नेपाली मजदुर पनि नेपाल फर्किएको बताउनुभयो ।
उहाँका अनुसार गत असार २४ र साउन १४ गतेको बाढीले क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी खण्डको सडक एकतर्फी रुपमा सञ्चालनमा आइसकेको छ भने सुरक्षा निकायको निगरानीमा पुल निर्माण कार्य अघि बढाइनेछ ।
यसैबिच, पासाङल्यामु राजमार्ग अन्तर्गत स्याफु–भार्खु खण्डमा याङयाङ खोलामा नजिक रहेको सडकमा ठुलो ढुङ्गा र माटोका कारण आवागमनमा कठिनाइ रहेको हुँदा अवरोध बाटो आज साँझसम्म हटाइने प्रजिअ पन्थीले बताउनुभयो ।
असार २४ गते चीनको लेन्देखोलामा आएको भीषण बाढीले नेपाल–चीन सिमानामा रहेको ऐतिहासिक मितेरी पुल बगाएपछि वैकल्पिक रुपमा बेलीबृज निर्माण कार्य अघि बढाइएको थियो ।