गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केही समय केशरमहलबाट सम्पादन हुने भएको छ । ‘जेनजी’ समूहको आन्दोलनबाट मन्त्रालयको भौतिक संरचनामा ठुलो क्षति भएपछि केही समयका लागि केशरमहलबाट मन्त्रालयका सेवा सम्पादन हुने मन्त्रालयका सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो ।
केशरमहलमा हाल केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमन कार्यालय रहेका छन् । ती दुवै कार्यालयलाई खुम्च्याएर मन्त्रालयको काम पनि त्यहीँबाट नियमित सञ्चालन गर्न लागिएको हो । २०७२ सालको भूकम्पमा क्षति भएको केशरमहल भर्खरै मात्रै निर्माण सम्पन्न भएको हो । उक्त मन्त्रालय सिंहदरबारमा सर्नुअघि पनि केशरमहलमै थियो ।
शुक्रबार मुख्य सचिव एकनारायण अर्याल नेतृत्वको टोलीले मन्त्रालयको अवलोकन गरेको थियो । सचिव पौडेलका अनुसार मन्त्रालयमा भौतिक संरचनामा क्षति पुगे पनि कागजपत्र भने सुरक्षित छन् । भूमिस्थ पार्किङमा राखिएका सवारीसाधन पनि जलेर ध्वस्त भए । माथिल्लो तलामा भने तोडफोड मात्रै भएको छ । आगलागीको प्रभाव देखिएको छैन । मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र प्रदानलगायत अनलाइनबाट प्रदान गरिने सेवा भने नियमित रहेको जनाएको छ ।
त्रिवि छठसम्मै बन्द
‘जेनजी’ पुस्ताको आन्दोलनका कारण विद्यालय तथा विश्वविद्यालय तहको शैक्षिक क्रियाकलाप रोकिएका छन् । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण शैक्षिक क्रियाकलाप कात्तिक ११ गतेसम्मका लागि स्थगित रहेको जनाएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशखाका प्रमुख लिल्ली थापा क्षेत्रीले बिहीबार सूचना जारी गरेर हिउँदे बिदाबाट कटौती गर्ने गरी हाललाई पठनपाठन बन्द गरिएको बताउनुभयो ।
साथै त्रिविले हाल सञ्चालन भइरहेको स्नातकोत्तर तथा स्नातक तहका परीक्षासमेत अर्को सूचना नआएसम्मका लागि स्थगित भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका निमित्त परीक्षा नियन्त्रक डा. सूर्यकान्त कलौनीले जानकारी दिनुभयो । परिस्थित सहज भएमा आइतबारदेखि प्रशासनिक कार्य भने नियमित गर्ने त्रिविले जनाएको छ ।
यस्तै कक्षा १२ का विद्यार्थीका लागि भदौ २८ र २९ गतेका लागि निर्धारण गरिएको मौका परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै पूरक परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । परीक्षाको अर्को तालिका परिस्थिति सहज भएपछि प्रकाशन गरिने बोर्डले जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले पनि अर्को सूचना जारी नभएसम्मका लागि आफू अन्तर्गतका सम्पूर्ण शिक्षण संस्थाको पठनपाठन बन्द भएको जनाएको छ ।
यसैबिच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले पनि आइतबारदेखि मात्रै पढाइ सञ्चालन हुने बताएको छ । परिस्थिति छिन छिनमा परिवर्तन भइरहेका कारण पढाइ सञ्चालन गर्ने कि नगर्ने भन्ने निर्णय पनि आफैँ गर्न विद्यालय सञ्चालकलाई प्याब्सनले भनेको छ । अधिकांश विद्यालय सञ्चालकले आइतबारभन्दा अगाडि विद्यालय खोल्न नसकिने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले यसअघि नै बिहीबारसम्मका लागि पढाइ स्थगित हुने सूचना जारी गरिसकेको थियो । शैक्षिक संस्था खोल्ने विषयमा भने परिस्थितिको विश्लेषण गरेर थप निर्णय गरिने काठमाडौँ महानगरपालिका शिक्षा विभागले जनाएको छ ।