अमरराज नहर्की
तनहुँ, भदौ २८ गते । जिल्ला प्रहरी कार्यालय तनहुँले आम जनतालाई फरार कैदीबन्दीको पहिचान पाए तत्काल सूचना दिन अपिल गरेको छ । जेनजी आन्दोलनका क्रममा मङ्गलबार साँझ कारागार खाली गरी निस्केका कैदी, बन्दीलाई शुक्रबार एक विज्ञप्ति प्रकाशित गरि फर्किन अपिल गरेको हो ।
जेनजी आन्दोलनको चर्को प्रभावमा कारागारबाट ३२७ कैदीबन्दी फरार भएका थिए । आन्दोलनकारीले दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिरहेको बेला कैदीबन्दी पनि कारागारबाट भाग्न सफल भएका हुन् । फरारमध्ये कतिपय सामान्य मुद्दामा सजाय भुक्तान गर्दै आएका थिए भने धेरै गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ “फरार रहेका कैदीबन्दीहरुलाई स्वेच्छा देखाएर नजिकको प्रहरी कार्यालय वा कारागारमा सम्पर्कमा आउन अनुरोध गर्दछौं । अन्यथा आवश्यक परेमा बल प्रयोग गरी नियन्त्रणमा लिइनेछ । साथै, यदि तपाईँको छरछिमेकमा उनीहरुको उपस्थिति थाहा पाउनुभयो भने तुरुन्त प्रहरीलाई जानकारी दिनुहोस् ।”
जनताको सुरक्षा सुनिश्चित गर्दै फरार कैदीबन्दी नियन्त्रणमा ल्याउने प्रयासलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।
तनहुँमा ७८ कैदीबन्दी फर्किए कारागार
यसैबीच तनहुँ प्रहरीले फर्किन अपिल गरेसँगै ७८ कैदीबन्दी कारागार फर्किएका छन् । हालसम्म ६९ जना पुरुष र नौ महिला गरी ७८ जना कैदीबन्दी कारागारमा फर्किएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । थापाले भन्नुभयो, ‘‘धैरै कैदीबन्दी र उनिहरुको परिवार हाम्रो सम्पर्कमा हुनुहुन्छ फर्किने क्रम बढेको छ ।’’