• २० कात्तिक २०८२, बिहिबार

महोत्तरीमा व्यापक वन फडानी

blog

बर्दीबास-४, टुटेश्वरको जङ्गलमा निर्ममता पूर्वका काटिएका रुख । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, भदौ २८गते ।
महोत्तरीमा व्यापक वन फडानी भएको छ । देशभर जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला बन्दुकसहित घरेलु हतियार बोकेका समूहले बर्दीबास-४, टुटेश्वर साझेदारी वनमा निर्ममतापूर्वक रुख फाँडानी गरेका छन् । फडानी गरिएका अधिकांस रुख साल प्रजातीका छन् ।

रुख काटेर सडकमै छाडेकाले गाँउ र मन्दिर जाने ५ किमी बाटो अझै अवरुद्ध छ । फँडानी रोक्न जाँदा झडपसमेत परेको छ । घटनाका बेला समूहले केही राउन्ड फायरसमेत गरेको जनाइएको छ । यस क्रममा समूहले २०० बढी रुख काटेको प्रारम्भिक अनुमान छ ।

वनकर्मीका अनुसार जेनजी प्रदर्शनका क्रममा मुलुकभर तोडफोड र ध्वंसात्मक घटना घटिरहेको मौका छोपी एक डेढ सयको सङ्ख्यामा रहेका समूहले मङ्गलबार साँझदेखि टुटेश्वरनाथ मन्दिर जाने बाटोको दायाँबायाँका सयौं रुख कटान गर्दै दक्षिणतर्फ बढेका थिए ।

यसबारे जानकारी पाएलगत्तै राति नै घटनास्थल पुग्नु भएका टुटेश्वर साझेदारी वनका अध्यक्ष विनयकुमार झालाई समूहले नियन्त्रणमा लिएका थिए ।

अध्यक्ष झाले भन्नुभयो, ‘‘मध्य रातको समय थियो । मैले हात जोडेर रुख नकाटन अनुरोध गर्दा मलाई एक घण्टजति नियन्त्रणमा राखे । मलाई नियन्त्रणमा लिएलगत्तै दुई राउन्ड फायर पनि भएको थियो ।’’

पछि टुटेश्वर साझेदारी र सशस्त्र वन रक्षकसहित सब डिभिजन प्रमुख कृष्णकुमार पटेलको टोली घटनास्थल पुगेपछि झालाई मुक्त गराएका थिए ।  

साथै, भोलीपल्ट ४ बजेतिर टुटेश्वर सब डिभिजन कार्यालयनजिक टायर बालेर फेरि रुख ढालेका थिए ।

घटनाबारे सिडिओलाई जानकारी गराएपछि साँझतिर घटनास्थल पुगेको सेना र सशस्त्र प्रहरीको टोलीले रुख काट्दै गरेका मध्ये तीन जनालाई नियन्त्रणमा लिएपछि फेरि अर्को झडप भयो । 
घटनास्थल पुगेका करिब सात सय महिलाको समूहले सेना र सशस्त्र प्रहरीको टोलीलाई घेराउ गरी पक्राउ परेकालाई छुटाउन खोजेपछि झडप भएको थियो ।

वनकर्मीका अनुसार गाँउलेको भीड बढ्दै गएको र मुलुकभर घटिरहेको घटनाको आँकलन गरी पक्राउ परेकालाई त्यही छाडेर सुरक्षा फौज फर्केको थियो ।

टुटेश्वर साझेदारी वन अध्यक्ष झाले प्रश्न गर्नुभयो ‘‘मुलुकमा शासन प्रशासन ठप्प भएको अवस्थामा आफुसहित वनको सुरक्षा कसरी गर्ने ?’’

रुख कसले र किन काट्यो स्पष्ट छैन । तथापि राजमार्ग उत्तरको मन्दिर जाने बाटो साँघुरो भएकाले तस्करीका लागि नभई पर्यटकीय मार्ग फराकिलो पार्न सडक छेउका रुख काटनु परेको स्थानीयको भनाइ छ ।