काठमाडौँ, भदौ २७ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ ।
राष्ट्रपति पौडेलले असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उहाँलाई नियुक्ति गर्नुभएको हो।
राष्ट्रपति पौडेलबाट छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गरिएको हो।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपतिसँगै प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो।
जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
नवनियुक्त प्रधानमन्त्रीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ।
जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो।
उक्त घटनापछि तत्कालीन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो।
सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाई संविधान अनुसार प्रजातान्त्रिक–मूल्य मान्यताका आधारमा जिम्मेवारी बहन गर्दै आएको छ। निकै जटिलपूर्ण अवस्थामा संयम भएर छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको छ।
नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्की कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभयो। यसअघि उहाँ लामो समयसम्म वकालत गर्दै सर्वोच्च अदालतको न्यायाधीश हुँदै उहाँ प्रधानन्यायाधीश बन्नुभएको थियो।
न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाउनुभएकी उहाँको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने छ।