• २७ भदौ २०८२, शुक्रबार

फर्किए कास्की कारागारका ७० कैदीबन्दी

blog

शुक्रबार दिउँसो जिल्ला कारागार कास्की फर्किएका कैदी, बन्दी। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ २७ गते। जेनजी आन्दोलनका क्रममा मङ्गलबार राति कास्की कारागार खाली गरी निस्केका कैदी, बन्दी फर्किन सुरु गरेका छन्। कारागारमा थ्रिफेज बिजुली जडानसहित अन्य व्यवस्थापन भएपछि ७० कैदी, बन्दी शुक्रबार फर्र्किइसकेको जेलर राजेन्द्र शर्माले जानकारी दिनुभयो। 

“७० जना आइसक्नुभयो, बाँकी पनि धेरै सम्पर्कमा हुनुहुन्छ,” शर्मा भन्नुहुन्छ, “हामी पूर्ववत् रुपमै सबै कैदीबन्दीलाई राख्न सक्ने अवस्थामा छौँ।” मङ्गलबार राति आन्दोलनकारीले तोडफोडसहित कैदीबन्दीलाई निकालेर कारागार खाली गराएका थिए। कास्की कारागारमा सात सय ७३ कैदी, बन्दी थिए। 

गण्डकी प्रदेशको राजधानी पोखराको जनजीवन सामान्य हुँदै गएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले दिउँसो निषेधाज्ञा र राति कर्फ्यू आदेश जारी गरी नेपाली सेना सुरक्षामा परिचालन भएपछि स्थिति सुधार हुँदै गएको हो।

जेनजीको आन्दोलनपछि प्रशासनले पोखरा महानगरका ३३ वटै वडामा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्दै आएको छ। बिहीबारबाटै कास्कीमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सरसफाइ र सेवा सञ्चालनको तयारी थालेका हुन्। 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले कार्यालयहरु सरसफाइ चलिरहेको र क्षतिको विवरण सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो। “प्रशासनका सबै कर्मचारी आएका छन्। सरसफाइ चल्दै छ,” उहाँले भन्नुभयो, “सबै वस्तु जलेकाले कलमदेखि कम्प्युटरसम्म जोरजाम गर्दै छौँ।”

जिल्ला प्रहरी कार्यालय कास्कीसहित प्रहरी युनिट पुनस्र्थापना हुने क्रममा छन्। “प्रयोग हुन सक्ने भवन प्रयोग गरी सेवा दिन्छौँ, नसकिने ठाउँमा वैकल्पिक स्थानको खोजी हुँदै छ,” सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले भन्नुभयो, “आजबाट क्षति सङ्कलन गर्न कार्यालय प्रमुखले सुरु गर्नुभएको छ। मुचुल्का तयार गर्न थालिएको छ।”

कम जोखिम भएका कोठाबाट अत्यावश्यक सेवा थाल्ने तयारी भएको छ। कार्यालयबाट सुरु भएका सामानहरु फिर्ता गर्न आह्वान गरेको छ।  फिर्ता नगरे सिसिटिभी फुटेजका आधारमा कारवाही थालिने प्रशासनले प्रष्ट पारेको छ।