• २८ भदौ २०८२, शनिबार

न आर्ट गर्न सामग्री छ न त खेल्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २८ गते । सफलराम श्रेष्ठको पहिचान नेपालका नम्बर एक स्की खेलाडीको छ । उहाँले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।

सफलले सन् २०१९ मा स्विडेन र सन् २०२१ म भएको विश्व स्की च्याम्पियनसिपका साथै सन् २०१६ मा नर्वेमा भएको युथ ओलम्पिक गेम्समा सहभागिता जनाउनुभएको छ । उहाँले नेपालको झन्डामुनि सन् २०१७ मा जापानको सापारोमा र सन् २०२५ मा चीनको हार्विनमा गरी दुई पटक एसियन विन्टर गेम्समा पनि खेल्नुभएको छ ।

बहुप्रतिभाशाली सफल राम्रा कलाकार पनि हुनुहुन्छ । उहाँलाई कला क्षेत्रबाट पनि आफू र देशलाई चिनाउने इच्छा छ । चीनको बेइजिङबाट फाइन आर्ट्स अध्ययन पूरा गरेका सफलको सपना थियो– आफ्नो एकल कला प्रदर्शनी गर्ने । यसका लागि सफलले पछिल्ला दुई वर्षदेखि तयारी गरिरहनुभएको थियो । उहाँको तयारी अन्तिम चरणमा थियो तर गत भदौ २४ गते उहाँका लागि कालो दिन बन्यो । जेनजीको आन्दोलनले सफलको सपना अहिलेका लागि चकनाचुर भएको छ । जेनजी आन्दोलनमा उहाँको घरमा पनि ठुलो क्षति पुगेको थियो ।

उहाँले भन्नुभयो, “एक दिनअघि म जेनजीको आन्दोलमा सहभागी भएको थिएँ, मङ्गलबार मेरै घरमा आक्रमण भयो । आन्दोलनकारीले घर तहसनहस बनाए, सबै लुटे । छिमेकीहरूले घरमा आगो भने लाग्न दिएनन् तर केही बाँकी रहेन । मेरो सपना सबै यही आन्दोलनमा तुहियो । मैले बनाएको मूर्ति, मखुण्डो, चित्र, पेन्टिङ सबै नष्ट भए । केही बाँकी भएन । पेन्टिङ कागज, क्यानभास, रङहरू केही छैन । लान मिल्ने सबै चोरेर लगे, नमिल्ने फुटाएर गए । स्की खेल्दा प्रयोग हुने सरसामान पनि चोरी भएको छ । न पेन्टिङ गर्न, न खेल्नलाई सामग्री छ ।” सफलका बुवा जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री हुनुहुन्छ । श्रेष्ठले भन्नुभयो, “जेनजीको आन्दोलनमा मेरो पनि पूरा सहमति थियो, हामी पनि आन्दोलन गरेर यहाँसम्म आइपुगेका हौँ तर यसरी कसैको सम्पत्तिमा भने हस्तक्षेप गरेका थिएनौँ । मेरो रिस नै थियो भने पनि मेरो परिवारलाई पोख्नु हुँदैनथ्यो । कलाले भरिएको कोठा वा ग्यालरी त नष्ट गर्नु हुँदैनथ्यो । त्यहाँ मेरो छोराको सपना थियो । सफलको प्रमाणपत्र, कलाकृति केही बाँकी छैन । सबै तहसनहन गरेको छ ।”

जेनजीलाई पूरा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाइराख्दा पनि यस्तो हिंसात्मक आक्रमण भएको भन्दै उहाँले थप्नुभयो, “राजनीतिक कारणले हो भने म पूर्वमन्त्री मात्र हो । अहिले सत्तापक्षमा पनि छैन, किन गरे थाहा छैन ।”