प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २८ गते । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति पुगेको रौतहटको चन्द्रनिगाहपुरमा रहेको इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माणमा चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा जुटेका छन् ।
चन्द्रनिगाहपुरका स्थानीय बासिन्दाहरु स्वस्फूर्त रुपमा मर्मत पुनर्निर्माणमा सक्रिय भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।
शुक्रबार स्थानीयले आगजनी भएको भवनमा नगरपालिकाको दमकलको सहयोगमा पानीले सफाइ गरेका छन् ।
नागरिककै जिउ धनको सुरक्षाको लागि प्रहरी चाहिने भएकाले आगजनीले क्षति भएको भवनको पुनर्निर्माणमा स्थानिय जुटेको चन्द्रनिगाहपुरका युवा समाजसेवी सुमन गौतमले बताउनुभयो ।
भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग तथा जनश्रमदान गर्न आम नागरिक, संघ संस्था, बैंक तथा वित्तीय संस्था लगायतकालाई अनुरोध गरिएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले जानकारी दिनुभयो ।
भवन मरम्मत, रङरोगनलगायतका लागि आवस्यक सहयोग रकम सङ्कलन अभियानका अगुवा पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष कार्कीले यस अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो ।
इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि स्थानिय बासिन्दाले शुक्रबार नै तीन लाख चार हजार नगद र लगभग तीन लाख बराबरको सामानहरु सहयोग स्वरुप जुटाएका छन् । सहयोग राशि सङ्कलन कार्य शनिबार पनि जारी रहेको छ ।
भवन पुनर्निर्माणको लागि चन्द्रनिगाहपुरका युवा, स्थानीय सक्रिय रुपमा लागेकाले १० दिन भित्र भवन मरम्मत सम्भार सकेर प्रहरीको नियमित कामकाज सुचारु गराउने योजना रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष कार्कीले बताउनुभयो ।
आन्दोलनकारीद्वारा गरिएको आगलागीले भवनको भौतिक संरचनामा क्षति पुग्नुको साथै फर्निचर तथा प्रहरीले लगाएको कपडा बाहेक सवै जलेर नष्ट भएको थियो ।
कार्यालयभित्र रहेका प्रहरीका मोटरसाइकल, मुद्दासम्बन्धी मोटरसाइकल, प्रहरीको भ्यान समेत आन्दोलनकारीले जलाएका थिए ।
भवन अभावका कारण प्रहरीले नियमित कामकाज सुरु गर्न सकेको छैन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा रहेका ८० जना प्रहरी अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा बस्न बाध्य भएका छन् ।