कास्की समाचारदाता
कास्की, भदौ २७ गते । पोखरा थिएटरमा मञ्चन भइरहेको नाटक ‘एक चिहान’ स्थगित भएको छ । थिएटरले सूचना जारी गर्दै जेन जीको प्रदर्शनपछि उत्पन्न परिस्थितिले गर्दा अर्को सूचना नभएसम्म नाटक मञ्चन स्थगित गरिएको जनाइएको छ ।
थिएटरका सञ्चालक परिवर्तनले परिस्थिति सामान्य नहुँदासम्मका लागि नाटक मञ्चन रोकिएको बताउनुभयो । “अहिले हामी पर्ख र हेरको अवस्थामा छौँ । प्रशासनबाट कफ्र्यु जारी भएको छ । सेनाले नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ । त्यसैले स्थिति पूर्ण रूपले सामान्य भएपछि मात्र नाटक मञ्चन हुने छ,” उहाँले भन्नुभयो । सो नाटक भदौ ५ गतेदेखि मञ्चन भइरहेको थियो । ‘एक चिहान’ साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको उपन्यास हो । यो उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीले भोग्नु परेका यातना, किसानमाथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्गनिर्देश गर्नुभएको छ ।
“२०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाई ‘एक चिहान’ नाटकमा प्रस्तुत गरिएको छ । गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोसाक, नेवारी लवजले नाटकलाई परिपक्व बनाउने प्रयासमा लागिपरेका छौँ,” निर्देशक परिवर्तनले भन्नुभयो ।
नाटकमा अष्टनारानको भूमिकामा धनकाजी श्रेष्ठ, लतमायाको भूमिकामा उमा पुन, शिवनारानको भूमिकामा रविन्द मल्ल, हाकुमायाको भूमिकामा कविता घर्तीमगर, पुननारानको भूमिकामा गोपाल भुसाल, सुन्तलीको भूमिकामा रञ्जु दाहाल, हर्षनारानको भूमिकामा उत्सर्ग सुवेदी, नानीथकुंको भूमिकामा अञ्जली शाही र गोदत्तप्रसादको भूमिकामा रमेशबाबु तिमिल्सिना रहनुभएको छ ।