• २६ भदौ २०८२, बिहिबार

ज्ञात र अज्ञातबिचको रोमाञ्चक यात्रा ‘अन्धेरा’

blog

काठमाडौँ, भदौ २६ गते । बलिउडमा मात्र होइन, हरर चलचित्रले अब ओटिटी प्लार्टफर्ममा पनि आफ्नो बलियो स्थान बनाउन थालेका छन् । ‘खौफ’, ‘छोरी २’ र ‘अन्धर माया’ पछि निर्देशक राघव धरले दर्शकमाझ ‘अन्धेरा’ नामक नयाँ वेभ सिरिज लिएर आउनुभएको छ । जुन सिरिजमा सस्पेन्स र थ्रिलर शैलीमा दर्शकलाई ज्ञात र अज्ञातबिचको रोमाञ्चक यात्रामा लैजान्छ ।

चलचित्रको कथाले अलौकिक शक्तिलाई मात्र सम्बोधन गर्दैन, विज्ञानको माध्यमबाट समाधान खोज्ने प्रयास पनि गरेको छ । उक्त शृङ्खलामा डरको स्रोत केवल भुत मात्र होइन, मनोवैज्ञानिक दबाब र प्रविधिको दुरुपयोग पनि हो भन्ने देखाइएको छ । ‘अन्धेरा’ मा अलौकिक तत्व, मनोवैज्ञानिक त्रास र प्राविधिक खतरा एकअर्कासँग मिसिएका छन्, जसले दर्शकलाई बाँधिरहन्छ ।

चलचित्रको कथा डरलाग्दो दृश्यबाट सुरु हुन्छ । बानी बरुआ (जान्ह्वी रावत) डा. पृथ्वी सेठ (प्रणय पचौरी) लाई भेट्ने असफल प्रयासपछि डरलाग्दो तरिकाले गायब हुन्छिन् । कार दुर्घटनाले पृथ्वीलाई कोमामा पु¥याउँछ भने उनका भाइ जय (करणवीर मल्होत्रा) डिप्रेसन र डरलाग्दा सपनाबाट ग्रस्त हुन्छन् । बानीको हराएको केस प्रहरी निरीक्षक कल्पना कदम (प्रिया बापट) कहाँ पुग्छ र अनुसन्धान पछि पृथ्वी र उनको कान्छो भाइ जयसँग जोडिन थाल्छ ।

जय आफ्नो समस्याबाट मुक्ति पाउन अलौकिक अनुभवमा ख्याति कमाएकी रुमी (प्राजक्ता कोली) भेट्छन् । यता आफ्नो कामुकतासँग सङ्घर्ष गरिरहेकी कल्पनाको पीडादायी विगत छ, जसले उनलाई समय समयमा सताइरहन्छ । ‘आत्मा’ नामक उपचार केन्द्र चलाउने सुरबिन चावलाको समर्थन र सङ्गत र समर्थन उनलाई प्राप्त छ । कल्पनाले आफ्नो अनुसन्धान अगाडि बढाउँदै जाँदा बानीको मुद्दा केवल उनको बेपत्ता हुनुमा मात्र सीमित छैन, यसमा अझ अँध्यारो, गहिरो र डरलाग्दा तह भएको महसुस गर्छिन् ।

अभिनयको हिसाबले आठ शृङ्खलामा बाँधिएको चलचित्रको कथा बलियो छ । प्रिया बापटलाई कल्पनाको भूमिका सुहाएको छ । उहाँ आफ्नो व्यक्तिगत जीवनको आघात र आफ्नो व्यावसायिक जीवनका चुनौतीको बिचमा फसेकी एउटा महिला प्रहरी अधिकारीको भूमिकामा देखिनुभएको छ ।

करणवीर मल्होत्राले मेडिकल विद्यार्थी र भाइको भूमिका निर्वाह गर्नुभएको छ जो दुःस्वप्न र अपराधले ग्रस्त हुनुहुन्छ । रुमीको भूमिकामा प्राजक्ता कोली ठिकठाक देखिएनुभएको छ । सुरबिन चावलाको भूमिका अपत्यारिलो छ । प्रणय पचौरी, वत्सल सेठ, जाह्नवी रावत, प्रवीण दबास जस्ता कलाकारले आफ्नो भूमिकालाई न्याय गर्नुभएको छ ।

चलचित्रको कथा गौरव देसाईं, चिन्तन शारदा र करण अंशुमनले लेख्नुभएको हो । निर्देशक राघवले आफ्नो निर्देशकीय क्षमताले पूर्ण रूपमा चलचित्रमा दर्शकलाई अनेकन् कुरामा अल्झाउने काम गर्नुभएको छ । पात्रको पृष्ठभूमिको कथाले दर्शकलाई अझ बढी भ्रमित बनाउन सक्छ । चलचित्रको पटकथा एकदमै सुस्त छ तर पनि बेला बेलामा दर्शकलाई डरै डरले झकझकाउन निर्देशक सफल छन् । मनोवैज्ञानिक, थ्रिलर र डरलाग्दा चलचित्र हेर्न रुचाउनेका लागि ‘अन्धेरा’ यो हप्ताको बलियो खुराक हुन सक्छ ।