• २८ भदौ २०८२, शनिबार

बरामद भए २६८ हतियार

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २८ गते । नवयुवा (जेनजी) प्रदर्शन हिंसात्मक बनेसँगै अराजक तथा आपराधिक समूहले नेपाल प्रहरीबाट लुटेका २६८ थान हतियार नेपाली सेनाले देशका विभिन्न स्थानबाट कब्जामा लिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हतियारसहित पक्राउ परेकामा अधिकांश जेलबाट भागेका कैदी रहेका छन् ।

सेनाले शुक्रबार सिन्धुली मरिन–४ बाट प्रहरीबाट लुटेको ९–एमएम चिनियाँ पेस्तोल काठमाडौँस्थित डल्लुबाट बरामद गरेको छ । त्यसै गरी काठमाडौँको महाराजगन्‍जस्थित प्रहरी कार्यालय तोडफोड, आगजनीसहित तीन जना प्रहरीको हत्या गरी लुटिएका सात नाल हतियार, त्यसमा लाग्ने गोलीसहित सेनाले चार जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा बालाजु माछापोखरी इलाकाबाट थप एक नाल हतियार बरामद गरेको जनाएको छ । 

त्यसै गरी काभ्रेपलाञ्चोक बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षितसाथ निष्क्रिय पारेको छ । काभ्रेस्थित धुलिखेल कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकोमा हाल स्थिति नियन्त्रणमा आएको छ । डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा लिई, फरार हुने क्रममा रहेका कैदीलाई सेनाले नियन्त्रणमा लिएर कारागार प्रशासनलाई बुझाएको थियो ।

त्यसै गरी झापाको भद्रपुर–८ स्थित हस्पिटल चोकमा शङ्कास्पद वस्तुलाई नेपाली सेनाले सुरक्षित साथ निष्क्रिय पारेको छ । सुरक्षा निकायहरूले जनसाधारणलाई पनि सचेत रहन र शङ्कास्पद वस्तु वा गतिविधि देखिए प्रहरी वा सेनालाई तत्काल जानकारी गराउन अनुरोध गरेका छन् ।