• २२ वैशाख २०८१, शनिबार

बिदेसिएका साढे चार लाख श्रमिक सामाजिक सुरक्षा कोषमा

blog

काठमाडौँ, मङ्सिर ७ गते ।  वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । आठ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । यो सङ्ख्या चैत ८ देखि मङ्सिर ५ सम्मको हो । 

कोषका अनुसार यसरी कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ९१ करोड ३२ लाख योगदान रकम कोषमा जम्मा भएको छ । कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको उक्त योजनामा उत्साहजनक सहभागिता भएको बताउनुभयो । 

कोषका अनुसार योजनामा हालसम्म नौ लाख १७ हजार २२८ जना आबद्ध भएका छन् । कोषको योजनामा आबद्ध भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक छन् । कोषमा आबद्ध हुनेको अवस्था हेर्दा वैदेशिक रोजगारीका क्रममा गन्तव्य देशमा कार्यरतभन्दा वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या धेरै रहेको उहाँको भनाइ छ । 

विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले सङ्ख्या बढी भएको भन्दै प्रवक्ता पन्थीले विदेशमा रहेकाको हकमा कतिपय ठाउँमा कोषको अनलाइन प्रणाली विकास गर्ने क्रममै रहेको र भएका ठाउँमा पनि जनचेतनाको अभाव भएकाले सङ्ख्या थोरै भएको बताउनुभयो । 

कोषले चैत ८ देखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गर्न सुरु गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन प्रमुख श्रम गन्तव्यका दूतावासलाई समेत अनुरोध गरेका कारण योगदानकर्ता बढ्ने विश्वास कोषको छ । 

विदेशमा रहेका कतिपय श्रमिकमा योजनाबारे भ्रम रहेका कारण विदेशबाट आबद्धता हुनेको सङ्ख्या लगभग तीन हजार मात्रै रहेको छ । हालसम्म आबद्ध भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन् । 

वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिक श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला तथा श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने भनिएको छ । 

कोषका अनुसार योजनामा समावेश हुने श्रमिकले मासिक दुई हजार दुई रुपियाँ बुझाउनु पर्छ । रकम एकमुस्ट छ महिना वा एक वर्षसम्मको बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने व्यवस्था छ । 

कोषका अनुसार यो रकम खल्ती, इसेवा र कनेक्ट आइपिएसमार्फत जम्मा गर्ने व्यवस्था गरिएको छ । कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने 

गरेको छ ।

श्रमिकले न्यूनतम दुई हजार दुई रुपियाँदेखि अधिकतम २८ हजार रुपियाँसम्म कोषमा मासिक योगदान गर्न पाउँछन् । कोषका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानेमध्ये मलेसिया जाने धेरै श्रमिक कोषमा आबद्ध भएका छन् । 

कम्तीमा दुई हजार भुक्तानी गर्नुपर्ने 

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले कम्तीमा दुई हजार दुई रुपियाँ सामाजिक सुरक्षा कोषमा मासिक रूपमा भुक्तानी गर्नुपर्ने छ । श्रमिकले स्वेच्छाले तीन गुणाभन्दा बढी अर्थात् २८ हजार १५५ रुपियाँ मासिक योगदानसमेत गर्न सक्ने छन् । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिँदा वा नवीकरण गर्दा वा विदेशमा काम गरिरहेको अवस्थामा पनि अनलाइनमार्फत निवेदन दिएर कोषमा आबद्ध हुन सक्ने छन् । 

श्रमिकले न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत कोषमा योगदान गर्नुपर्ने छ । सरकारले १० हजार ८२० न्यूनतम पारिश्रमिक तोकेको छ । कोषमा आबद्ध हुने श्रमिकले दुर्घटना र अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउने छन् । श्रमिकले भुक्तानी गरेको योगदान रकममध्ये ७.४८ प्रतिशत रकम (७०२ रुपियाँ) दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुने छ । जसबाट श्रमिकले दुर्घटना उपचार खर्च वार्षिक एक लाख रुपियाँसम्म पाउने छन् । श्रमिक अशक्त भएमा मासिक ६० प्रतिशत भुक्तानी हुने छ । वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ ।

विदेशमा रहेका श्रमिक आबद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ । त्यस्तै श्रमिकको मृत्यु भएमा अन्तिम संस्कारका लागि २५ हजार भुक्तानी गरिने छ । जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ । वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुस्ट रकम लिने वा निवृत्तभरण योजनामा सहभागी बन्न सक्ने व्यवस्था कोषले गरेको छ ।