• ५ कात्तिक २०८२, बुधबार

महोत्सवमा झडप, एक जना गम्भीर घाइते

blog

झडपमा घाइते हुनुभएका एक दर्शक ।

शशिधर पराजुली

विराटनगर, कात्तिक ५ गते । सुरक्षा निकायको आग्रह बेवास्ता गर्दै मोरङको जहदा–४, रामचोकमा सञ्चालन गरिएको प्रथम जहदा महोत्सवमा झडप भएपछि स्थानीय प्रशासन आजबाट महोत्सव स्थगित गरिदिएको छ । 

महोत्सव आयोजकहरूबिच बुधबार राति करिब १ बजेतिर विवाद भई कुटाकुट हुँदा एक जना गम्भीर घाइते भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले महोत्सव सञ्चालनमा रोक लगाएको हो । 

मध्येराति भएको घटनामा कटहरी–४ निवासी ३५ वर्षे अनिलकुमार सहनी घाइते हुनुभएको थियो । उहाँकोे टाउकोमा गहिरो चोट लागेको कोशी अस्पताल विराटनगरले जानकारी दिएको छ । सुरक्षा निकायले असोज २६ गते लेटाङ महोत्सवमा भएको झगडा, जुवाजन्य खेल र मदिरा बिक्रीका कारण मेला बन्द गर्नुपरेको अनुभवका आधारमा जहदामा मेला नगर्न सिफारिस गरेको थियो । 

सुरक्षा निकायको सुझावलाई बेवास्ता गरी जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको पत्रका आधारमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मेला आयोजना गर्न स्वीकृति दिनुभएको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी यादवले दवाव मेला आयोजना गर्न स्वीकृति दिएको भन्ने भनाइ सत्य नभएको भन्दै र मेलामा सहभागीहरुको स्वास्थ्य बिमा गरिसकिएको अवस्थाका कारण अनुमति दिएको बताउनुभयो । उहाँले घटनापछि बुधबारबाटै मेला स्थगित गरिएको जानकारी दिनुभयो । 

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मङ्गलबार मेला सकिएपछि आयोजकहरूले राति मदिरा सेवन गरेको र त्यसै क्रममा विवाद हुँदा घटना भएको जानकारी दिनुभयो । उहाँले सुरक्षाकर्मीहरूले झडप हुन नदिन नियन्त्रणको प्रयास गरेपछि झडपको अवस्था नरोकिएको बताउनुभयो ।