• १४ मंसिर २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, भदौ १४ गते । झापामा बेग्लाबेग्लै सवारी दुर्घटनामा परेर दुई जनाकाे मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शिवसताक्षी र बिर्तामोड नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवसताक्षी र कन्काइ नगरपालिका बीचमा रहेका कनकाई पुलमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा बाह्रदशी गाउँपालिका वडा नं. ५ की १८ वर्षीया किशोरी जेसिका सिग्देलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५४६३ र को ३१ प ९५२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकलमा पछाडि सवार सिग्देलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते सिग्देलको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रिजालले जानकारी दिनुभयो । मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा ९ का ४० वर्षीया रुद्रप्रसाद न्यौपाने गम्भीर घाइते भएका छन् । सोही घटनामा को ३१ प ९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका वडा नं. १ का ४० वर्षीय सुरेश राई, मोटरसाइकल सवार २९ वर्षीय निश्चल चेमजोङ घाइते भएका छन् ।

यसैगरी, बिर्तामोड नगरपालिकामा बुधबार राती भएको दुर्घटनामा अर्का एक जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा कनकाई नगरपालिका वडा नं. ५ निवासी २६ वर्षीय सागर घिमिरेको मृत्यु भएको हो ।  

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड वडा नं. ३ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

मे ५ प ५५६८  नम्बरको मोटरसाइकल चालक घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त दुर्घटनामा २ जना गम्भीर घाइते रहेको र बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।