• ११ मंसिर २०८१, मङ्गलबार

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, साउन २६ गते । साझा भण्डार भोटाहिटीको नाममा रहेको विभिन्न स्थानको जग्गा बिक्री गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

भण्डारको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगरपालिका र बाँकेको कोहलपुरमा रहेको जग्गा बिक्री गर्दा अनुचित लाभ लिएको आरोपमा तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने, योगेन्द्रनाथ कर्माचार्य तथा सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार नौ जनालाई जनही चार करोड चार लाख २४ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ । 

त्यस्तै आयोगले सोही प्रकरणमा दैलेखको नारायण नगरपालिका स्थायी ठेगाना भई हाल काठमाडौँको टोखा निवासी गीताकुमारी शाही तथा बाँकेको कोहलपुर निवासी सुरोज गिरीविरुद्ध पनि मुद्दा दायर गरेको छ । शाहीलाई तीन लाख तीस हजार रुपियाँ तथा गिरीलाई चार करोड ९४ हजार रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

यसैबिच सुर्खेत वीरेन्द्रनगरभित्र औद्योगिक शीत भण्डार निर्माण कार्यमा वास्तविकभन्दा बढी भुक्तानी गरेको आरोपमा आयोगले बिहीबार नै तत्कालीन आयोजना प्रमुख तथा आयोजना सचिव राजेन्द्रप्रसाद भारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

भारीलाई ९२ लाख ४३ हजार रुपियाँ बिगो, आयोजनाका तत्कालीन सबइन्जिनियर गणेश भण्डारीलाई १६ लाख २४ हजार रुपियाँ, तत्कालीन वरिष्ठ कृषि विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापा, तत्कालीन निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक गुरुप्रसाद अधिकारी, लेखा अधिकृत उत्तमकुमार बस्नेत र तत्कालीन उच्चमूल्य कृषि तथा विकास आयोजनाका लेखा अधिकृत खिमलाल वलीलाई तीन लाख २५ हजार रुपियाँ बिगोसहित भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।

तत्कालीन उच्चमूल्य कृषि तथा विकास आयोजनाका कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडालाई सात लाख २६ हजार १८१ रुपियाँ, तत्कालीन उच्चमूल्य कृषि तथा विकास आयोजनाका सबइन्जिनियर सुवर्णराज भारतीलाई ३५ लाख ३६ हजार रुपियाँ, कर्णाली कोल्ड चेन लजिस्टिक प्रालीका सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रबल शाहीलाई ९२ लाख ४३ हजार रुपियाँ, तथा तत्कालीन सदस्य महेश शर्मालाई ३५ लाख ३६ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।