• १२ साउन २०८१, शनिबार

कार्डबाट कामना, छैन कुनै भावना

blog

काठमाडौँ, साउन २१ गते । कक्षा ८ मा पढ्दा सङ्गिनी निशा राईले दिएको बलिउड अभिनेता सलमान खान अङ्कित कार्डको याद अझै ताजै छ । नयाँ बानेश्वरका राम शर्मालाई। त्यति बेलाको कार्ड हातमा राख्दै उहाँ भन्नुहुन्छ, “अहिले कार्डबाट कामना पठाउने फुर्सद कसलाई पो छ र ?” 

उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “आजभन्दा दुई/तीन दशक अघिसम्म स्कुल कलेजका विद्यार्थीमा नयाँ वर्ष, दशैँ, तिहार वा मिल्ने साथीका जन्मदिनमा आफ्ना भावनाहरू विभिन्न किसिमका कार्डमा लेखेर दिनु निकै रोमाञ्चित पार्ने विषय हुने गथ्र्यो। यसले दिने र पाउने दुवैबिचको मित्रता र सम्बन्धलाई प्रगाढ बनाउँथ्यो। कतिपयको प्रेमको प्रस्थान बिन्दु बन्ने गथ्र्यो पोस्ट कार्ड साटासाट गर्नु। त्यति बेला विशेष गरी भारतीय सिने कलाकारका कार्ड बजारमा निकै पाइन्थ्यो।” 

अहिले पनि बजारका गिफ्ट सपमा कार्डहरू पाइन्छन्। ती कार्डमा तयारी अक्षरहरू हुन्छन्। विभिन्न डिजाइन, साइजमा निकै आकर्षक कार्ड बनेका हुन्छन्। महँगा पनि उत्तिकै। कुनै बच्चा जन्मनुअघिका, कुनै बच्चा जन्मेपछिका, कुनै पास्नीका, कुनै जन्मदिनका, विवाह, वार्षिकोत्सव सबै समारोहका कार्ड छन्। बिरामी हेर्न जाँदाका लागि छन्। हुँदा हुँदा मृत्युको समवेदना व्यक्त गर्ने कार्ड पनि पाइन्छन्। त्यसमा पनि विभिन्न ब्रान्डका तर ती तयारी कार्डमा विगतका जस्तो आत्मीय भावना पाउन सकिँदैन। दिनेले दियो। लिनेले लियो। कक्षा १२ मा अध्ययनरत विद्यार्थी उमेश शर्मा भन्नुहुन्छ, “कार्ड किनेर मायाप्रीति लगाउन पाए पुगिहाल्यो नि, किन कार्डमा लेखिएको भावना बुझ्नु प-यो र ?” पछिल्ला केही दशकका मित्रता दिवस र ‘भ्यालेन्टाइन डे’ का अवसरमा केही तयारी अक्षरसहितका कार्डको व्यापार निकै राम्रो हुने गरेपछि अहिले त्यसमा युवापुस्ताको चासो हटिसकेको छ। उनीहरूमा कार्ड किन्ने, हस्ताक्षर गर्ने र आफूलाई मन परेकालाई पठाउने वा दिने जाँगर पटक्कै नभएको बत्तीसपुतलीस्थित हलमार्कका प्रकाश गिरी बताउनुहुन्छ। उहाँको भेरोनिका, हलमार्क, आरचिस, एक्सप्रेसन, जुबली जस्ता ब्रान्डका कार्ड उपलब्ध छन् तर त्यसभित्र लेखिएका भावनालाई कसैले राम्रोसँग बुझ्ने गरेको जस्तो उहाँलाई लाग्दैन। थोरै व्यक्तिले मात्र कार्डको ब्रान्ड रोज्ने गरेको उहाँको अनुभव छ। 

बिदेसिने सोचमा रहेका केही युवकयुवती भने अहिले आफ्नै देशमा बनेको, नेपाल र यहाँको भौगोलिक तथा संस्कृति झल्कने कार्डको खोजी गर्ने गरेको पाटनका एक कार्ड व्यवसायी बताउनुहुन्छ। सिनामङ्गलस्थित डब्ली गिफ्ट पसलका विष्णु कार्की कार्डको व्यापार उत्सवहरूमा मात्र धेरै हुने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “अहिले पहिला जस्तो कार्डको व्यापार छैन। मानिसले कार्डको प्रयोग गर्न छाडिसके। इमेल र इन्टरनेट, विभिन्न सामाजिक सञ्जालको चक्करले कार्ड साट्ने परम्परा नै हराइसक्यो। 

रातोपुलका कार्ड व्यापारी राज लामा मोबाइलमा उपलब्ध अनेकौँ एपका कारण कार्डको प्रयोग हराएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “कार्डमा हातैले लेखिएको अक्षरभित्रको आत्मीयता मोबाइलको एसएमएसले कसरी पूर्ति गर्ला र। त्यो त दिनेले जसरी औपचारिकता पूरा गर्न पठाएको हुन्छ, पाउनेले पनि त्यस्तै प्रकारले ग्रहण गर्ने हो नि।”