• १७ असार २०८१, सोमबार

रकी र रानीको प्रेमकथा

blog

काठमाडौँ, साउन २० गते । करण जोहर त्यस्तो निर्देशक हुनुहुन्छ जसको चलचित्रमा भव्य सेट, मनोरञ्जनात्मक गीत र चर्चित कलाकार कहिल्यै छुट्दैनन्। उहाँको यो पुरानै शैली चलचित्र ‘रकी और रानीकी प्रेमकहानी’ मा पनि देखिन्छ। जोहर छ वर्षपछि चलचित्रबाट निर्देशकका रूपमा फर्किनुभएको छ। धर्मा प्रोडक्सन र वायाकम ग्याडको ब्यानरमा निर्माण भएको चलचित्र चौतर्फी मनोरञ्जन, एक्सन सँगसँगै पारिवारिक सम्बन्धमा आउने उतारचढावको प्रेमकथा जोडिएको छ। रणवीर सिंह र आलिया भट्टले यसअघि चलचित्र ‘गल्ली ब्वाय’ मा सँगै काम गरिसक्नुभएको छ। जसको राम्रो चर्चा भएको थियो। अहिले यो जोडीको दोस्रो प्रेमिल पारिवारिक चलचित्र हो।

पारिवारिक चलचित्रमा पञ्जाबी केटा रकी (रणवीर सिंह) र बङ्गाली केटी रानी (आलिया भट्ट) मायाप्रेममा पर्छन्। दुवै पेसाले पत्रकार हुन्। दुवैको पारिवारिक पृष्ठभूमि फरक भएकाले उनीहरूको प्रेममा पारिवारिक समस्या आउँछ। यस्तो अवस्थामा दुवैले एक योजना अन्तर्गत तीन महिना एक अर्काको घरमा बसेर परिवारलाई मनाउने प्रयास गर्छन्। के उनीहरू एक अर्काको परिवारलाई मनाउन सक्षम हुन्छन् ? दुवै एक अर्काको परिवारलाई मनाउन गर्ने प्रयास नै चलचित्रको मुख्य विषय हो। परिवारलाई मनाउनका लागि दुवैले के कस्ता चुनौती र समस्या झेल्छन् त ? परिवारभित्र देखिएको जातीय कुराले दुवैको प्रेममा बाधाअड्चन आएको हुन्छ। यो अड्चनबाट कसरी दुवैले सामना गर्छन् त ? दुवैले आफ्नो प्रेमलाई जोगाउन सक्छ कि सक्दैनन् भन्ने कुरालाई चलचित्रमा दर्शाउन खोजिएको छ। 

चलचित्रमा रणवीर सिंहको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ। उहाँ एक ज्वलन्त अभिनेताका रूपमा प्रस्तुत हुनुभएको छ। उहाँ हास्य र भावनात्मक दुवै शैलीमा चलचित्रमा प्रस्तुत हुनुभएको छ। उहाँलाई प्रेमिल शैलीको अभिनय सुहाएको छ। त्यस्तै नायिका आलिया भट्टको अभिनयलाई पनि हामीले बिर्सन हुन्न। यसमा उहाँ अन्य चलचित्रमा भन्दा भिन्न शैलीमा प्रस्तुत हुनुभएको छ। एक जमानाका चर्चित कलाकार धर्मेन्द्रले लामो समयपछि चलचित्रमार्फत आफ्नो कमब्याक गर्नुभएको छ। यसबाहेक चलचित्रमा जया बच्चन र शबाना आजमीको अभिनयले सुनमा सुगन्ध ल्याउने काम गरेको छ। 

कतिपय निर्देशकको दृष्टिले नै उनीहरूको कामलाई उत्कृष्ट बनाउँछ। करण जोहर पनि त्यस्तै निर्देशकमा पर्नु हुन्छ। जोहरलाई दर्शकले कस्तो चलचित्र मन पराउँछन् भन्ने कुराको राम्ररी हेक्का छ। उहाँलाई राम्ररी थाहा छ कि मनोरञ्जन भनेको चलचित्रमा देखाइने एक मात्र त्यस्तो तìव हो जसले दर्शकलाई चलचित्र हलमा जान बाध्य पार्छ। त्यसैले पनि उहाँले अहिलेको चलचित्र पनि सबै वर्गका लागि मनोरञ्जनात्मक बनाउन कुनै कसर बाँकी राख्नुभएको छैन। उहाँले प्रेमकथा र पारिवारिक मूल्य मान्यताबिचको द्वन्द्वलाई चलचित्रमा सुन्दर ढङ्गले कैद गर्नुभएको छ। यो प्रयासमा धेरै हदसम्म उहाँ सफल पनि हुनुभएको छ। चलचित्रको भव्य सेटमा उहाँको मेहनत देखिन्छ। चलचित्रको अर्को राम्रो पक्ष भनेको यसको गीत/सङ्गीत हो। चलचित्र प्रदर्शनअगावै यसको गीतले राम्रो चर्चा कमाएको थियो। निर्देशक जोहर यस पटक पनि एउटा राम्रो र पारिवारिक कथा दर्शकसामु पस्कन सफल हुनुभएको छ।