ठाकुरप्रसाद आचार्य
म्याग्दी,चैत १० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित धार्मिक महत्त्व बोकेको गायत्री मन्दिर राहुघाट र कालीगण्डकी नदीको कटानबाट जोगिएको छ । सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले नदी नियन्त्रण योजना अन्तर्गत कम्पोजिट प्रविधिबाट पर्खाल निर्माण गरेपछि जोखिममा परेको मन्दिर परिसर सुरक्षित बनेको हो ।
आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दिरको संरक्षणका लागि नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण योजना सञ्चालन गरेको थियो । पर्खाल निर्माणपछि गायत्री मन्दिर नदी कटानबाट संरक्षण भएको छ ।
राहुघाट नदीको किनारमा ५३ मिटर दुरीमा नदीको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्यावियन झाली भरेर पर्खाल निर्माण गरिएको आयोजना कार्यालय पोखराका इन्जिनियर नरजङ्ग गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाको दुई करोड १३ लाख ६६ हजार आठ सय ७८ रुपियाँ कुल लागत भएकोमा एक करोड ४२ लाख ५३ हजार ६ सय ४६ रुपियाँमा ठेक्का सम्झौता भएको छ । उक्त आयोजना आगामी २०८३ असार २५ गतेभित्र सम्पन्न गर्न २०८३ भदौ ४ गते गुरुङ बाजे मण्डली जेभीसँग ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।
आगामी २०८३ असार २५ गतेभित्र योजना निर्माण सम्पन्न गर्ने ठेक्काको अवधि भएपनि निर्माण व्यावसायीले आवश्यक मात्रामा मजदुर र उपकरण परिचालन गरेर चार महिना अघिनै सम्पन्न गरेको आयोजनाका इन्जिनियर गुरुङले बताउनुभयो ।
नदीमा पानीको सतह घटेपछि पुुस महिनामा राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिएको थियो । काम थालेको दुई महिनामै योजना सम्पन्न भएको आयोजना कार्यालय पोखराले जनाएको छ ।
गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रूपमा रहेको छ । साधु, सन्तहरू ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ । प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम देखि नजिक रहेको गायत्री मन्दिरको संरक्षण, प्रचारप्रसार र प्रवर्धन गरेर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना गाउँपालिकाले बनाएको छ । यसैगरी अघिल्लो वर्ष कालीगण्डकी नदी किनारमा रहेको राम मन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा पर्खाल निर्माण गरिएको थियो ।