• १३ साउन २०८१, आइतबार

३७ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

blog

मीना कंडेल

कावासोती, साउन ८ गते । नवलपुरमा एक वर्षमा ३७ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा आ.व २०७९/०८० मा ३७ हजार ९ सय ५ सवारी कारबाहीमा परेका हुन् । 

कारबाहीमा परेका सवारी साधनबाट रु तीन करोड १० लाख राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो । “अघिल्लो आवको आ.व २०७८/०७९ मा ३१ हजार १ सय ९३ सवारी कारबाही गर्दा दुई करोड ११ लाख ८१ हजार ५ सय रुपियाँ सङ्कलन भएको थियो । विगतका वर्षको तुलनामा गत आ.वमा राजस्व बढेको छ,” ट्राफिक प्रमुख पौडेलले भन्नुभयो, “यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारबाहीमा परेका छन् ।

सवारी साधन दुर्घटनामा पर्दा यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र सडकका कारणले बढी सवारी दुर्घटना हुने गरेको पाइन्छ । यसको नियन्त्रण र न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले गत आर्थिक वर्षमा एक हजार ३ सय ५५ पटक विभिन्न जनचेतना मूलक कार्यक्रमहरू गरेको छ । यस्ता कार्यक्रमले गर्दा पनि सवारी दुर्घटनामा केही कमी आएको प्रमुख पौडेलले बताउनुभयो । 

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा रिफ्रेस सेन्टरको व्यवस्था गरिएको छ । लामो दुरीका सवारी साधन जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको रिफ्रेस सेन्टरमा एक घण्टा आराम गरेर गन्तव्यमा आवतजावत गर्ने गरेको जिल्ला प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

सवारी दुर्घटनामा २९ जनाको ज्यान गयो 

एक वर्षमा जिल्लाका विभिन्न स्थानमा गरी ७५ वटा सवारी दुर्घटना भएका छन् । उक्त सवारी दुर्घटनामा परि २९ जनाले ज्यान गुमाएका छन् । प्रमुख पौडेलका अनुसार एक सय ४ जना गम्भीर घाइते र ९९ जना सामान्य घाइते भएका छन् ।  

जिल्लाको ८ वटा पालिकामध्ये सबैभन्दा बढी विनयीत्रिवेणी गाउँपालिकामा सवारी दुर्घटना भएको छ । विनयीत्रिवेणी गाउँपालिकामा आ.व २०७९/०८० मा १८ वटा सवारी दुर्घटना भएको छ जसमा ४ जनाको मृत्यु भएको छ । यसैगरी कावासोती नगरपालिकामा १५ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, गैँडाकोट नगरपालिकामा १३ सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु, मध्येविन्दु नगरपालिकामा १३ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, देवचुली नगरपालिकामा -८ सवारी दुर्घटना हुँदा २ को मृत्यु, हुप्सेकोट गाउँपालिकामा ३ सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु, बौदिकाली गाउँपालिकामा ३ सवारी दुर्घटना हुँदा २ को मृत्यु र बुलिङ्टार गाउँपालिकामा २ सवारी दुर्घटना हुँदा ५ को मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।