अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २८ गते । पुतलीबजार नगरपालिकाले नौ हजार ५२० वटा कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाका १४ वडामध्ये वडा नं –११ बाहेक सबै वडाका ९९८ जनालाई चल्ला तथा दाना वितरण गरेको हो ।
पालिकाले प्रदेश सर्शत अनुदान तर्फको कार्यक्रमअन्तर्गत मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम परियोजना कार्यक्रममा निःशुल्क कुखुराका चल्ला वितरण गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।
वडामा रहेका विपन्न परिवारलाई लक्षित गर्दै उनीहरुका आयस्तरमा समेत वृद्धि गराउने हेतुले चल्ला र दाना समेत उपलब्ध गराएको रेग्मीले बताउनुभयो ।
नगरपालिकाले वडा नं –१ मा ८० जनालई ७२०, वडा नं –२ मा ७० जनालाई ७२०, वडा नं –३ मा ७८ जनलाई ७०४, वडा नं –४ मा ६० जनालाई ६६० वटा, वडा नं –५ मा ७० जनालई ७०५, वडा नं–६ मा ६० जनालाई ६६०, वडा नं –७ मा ७२ जनालाई ७३०, वडा नं –८ मा ७१ जनालाई ७१४, वडा नं –९ मा ७८ जनालाई ७५८, वडा नं –१० मा ७० जनालाई ७२०, वडा नं –१२ मा ७१ जनालई ७२०, वडा न–१३ मा १२८ जनालाई ८५० वटा, र वडा नं –१४ मा ९० जनालई ८५० वटा कुखुराको चल्ला वितरण गरिएको हो ।
नगरपालिकाले कुखुरा पालक किसानको माग अनुसार नौ वटा देखी १५ वटा सम्म कुखुराका चल्ला र दाना उपलब्ध गराएको हो ।
चल्लाले अण्डा र मासु दिने खालका रहेको जनाउदै प्रमुख रेग्मीले किसानका लगाव, परिश्रम र उत्पादन हेरेर आउदा दिनमा पनि यस्ता अभियानजारी राख्ने जानकारी गराउनुभयो ।
वडा कार्यालयबाट सिफारिस भएका किसानलाई न्यु ह्य्म्प्सायर र ब्लेक अस्ट्रालोर्प प्रजातिका कुखुराका चल्ला वितरण गरिएको हो । वितरित चल्ला तथा दाना राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट उत्पादन गरिएको हो ।