• १४ वैशाख २०८१, शुक्रबार

कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो

blog

ललितपुर, साउन ३ गते । राजनीतिक दलहरूमा समग्र रूपान्तरणको विमर्श चलिरहँदा नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्था स्थापनापछि पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गरी नवीन अभ्यास थालेको छ । यससँगै नेपालमा सञ्चालनमा रहेका दलहरूमध्ये पुरानो दल नेपाली कांग्रेस पार्टी सञ्चालनको पारदर्शी पद्धतिमा नयाँ प्रविधिमा रूपान्तरण भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबार सुरु भएको बैठकको प्रत्यक्ष प्रसारण गरिएको हो । प्रत्यक्ष प्रसारणका लागि कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा मल्टिमिडिया व्यवस्थापन गरेको छ । साथै कांग्रेसको आधिकारिक फेसबुक पेजबाटै बैठक प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । 

मुलुकको जेठो दल नेपाली कांग्रेसले ७४ वर्षे इतिहासमा पहिलो पटक केन्द्रीय कार्यसमिति बैठकमा हुने छलफल पारदर्शी बनाउने नवीनतम प्रयास थालेको हो । १४ औँ महाधिवेशनसम्म आइपुग्दा कांग्रेसका हरेक महाधिवेशन खुला सत्र अर्थात् उद्घाटन सत्र र बन्द सत्र हुँदै आएको थियो । 

पार्टीको आन्तरिक छलफल बन्द सत्रमै हुने गरेको छ । यसलाई राजनीतिज्ञ र विज्ञहरूले कांग्रेसको नयाँ अभ्यास बताउनुभएको छ । 

जनता सुसूचित हुने अवसर

संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका तत्कालीन मुख्यसचिव डा. शोभाकर पराजुली र पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रसारण सुरु गरेर लोकतान्त्रिक प्रक्रियामा नवीनतम अध्याय सुरु गरेको बताउनुभयो । 

डा. पराजुलीले कांग्रेस पार्टीको मुख्य सचिव भएर केन्द्रीय कार्यालयका माइन्युट लेखिरहँदा कतिपय केन्द्रीय सदस्यले बैठकमा एउटा कुरा गर्ने, बाहिर सार्वजनिक रूपमा अर्कै कुरा गर्ने समस्या आफूले भोगेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्या म आफैँले भोगेका कारण ‘राष्ट्रिय राजनीतिक दलका केन्द्रीय बैठकका कुरा जनताले जस्ताको तस्तै थाहा पाउनुपर्छ’ भन्ने अभियानको प्रारम्भ गरेको हो । कांग्रेसले थालनी गरेर 

राम्रो ग-यो ।” 

उहाँले प्रत्यक्ष प्रसारण गर्दा जनता सुसूचित हुने बताउनुभयो । उहाँले लोकतन्त्रमा बन्द सत्र हुँदैन, खुला सत्र हुनुपर्छ भनेर आलेख लेखेको बताउँदै नेपाल प्रेस युनियनका संस्थापकको हैसियतले नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूलाई पनि नवीन शैली अपनाउनुस् भनेको स्मरण गर्नुभयो ।  

पूर्वगभर्नर डा. नेपालले एउटा राजनीतिक पार्टी जनताप्रति कति उत्तरदायी छ र पार्टी कार्यकर्ताप्रति कति उत्तरदायी छ भनेर कांग्रेसले देखाएको बताउनुभयो । उहाँले पार्टीभित्रका मुद्दा के छन् भन्ने सन्दर्भमा सबैले सुन्न पाउनुपर्ने बताउनुभयो । साथै राष्ट्रिय मुद्दाका विषयमा जनताले थाहा पाउनुपर्ने उहाँको भनाइ छ । 

प्रस्तावमाथि छलफल आजदेखि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० बुँदे प्रस्ताव र सोही प्रस्तावभित्रको साङ्गठनिक कार्ययोजना र कार्यतालिका महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावमाथि बुधबारदेखि छलफल सुरु हुनेछ । मङ्गलबारको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहनुभएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मङ्सिर ४ को निर्वाचन परिणामपछि विकसित घटनाक्रम र सरकारको गतिविधिबारे जानकारी गराउनुभयो । केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले समितिको प्रतिवेदन पेस गर्नुभयो । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले समितिको कामबारे विवरण पेस गर्नुभयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा पार्टीको गतिविधिको सन्दर्भमा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

महामन्त्री थापाले बैठकमा नीति महाधिवेशनको टुङ्गो लगाउन तथा एक वर्षभित्र गर्ने कामको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । प्रस्तावमा साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान गरिने भनिएको छ । एक वर्षको अवधिमा कम्तीमा सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ यो अभियान गरिने उहाँको प्रस्तावमा उल्लेख छ । महामन्त्री थापाले भदौ १५ गतेभित्र सम्पूर्ण विभाग गठन गर्ने र पूर्णता पनि दिने र थप गर्ने प्रस्ताव गर्नुभएको छ । 

उहाँले पार्टीका दस्तावेज डिजिटलाइज्ड (विद्युतीय) गर्ने र डिजिटल अभिलेख राख्ने प्रस्ताव गर्नुभएको छ । त्यसै गरी पार्टीका केन्द्रीय सदस्यलाई एक महिनाका लागि पार्टी कामबाट बिदा दिने प्रस्ताव पनि उहाँको छ ।