हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक २३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको छ ।
आयोजक पथरी ११ फुटबल क्लबलाई घरेलुु मैदानमा २–१ गोलले हराउँदै सलहेश फुटबल क्लबले दोस्रो संस्करणको उपाधि जितेको हो ।
जितसँगै सलहेशले पाँच लाख रुपियाँसहित गोल्डकप प्राप्त गरेको छ । उपवजेता पथरी–११ फुटबल क्लब पथरीशनिश्चरेले दुई लाख ५० हजार रुपियाँसहित उपविजेताको ट्रफी पाएको छ ।
१८ओैं मिनेटमा पथरी ११ का अग्रपक्तिका खेलाडी निरज परियारलाई सलहेशका कारिम ओमेलाजाले फल्ड गरेपछि पथरी–११ ले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
पथरी–११ धिरेन क्षेत्रीले पेनाल्टी सदुपयोग गर्दै टिमलाई १–० को अग्रता दिलाउनुभयो । तर, पथरीले अग्रतालाई लामो समय टिकाउन सकेन ।
मध्यान्तर अघि १–० गोलले अघि रहेको आयोजक पथरी–११ ले मध्यान्तरपछि रक्षात्मक खेल खेलेको थियो । खेलको ५६औं मिनेटमा बल लिएर अघि बढ्नुभएका सलहेशका रिचार्ड विल्सनलाई पथरीक गोल रक्षकले अघि बढेर लडाएपछि सलहेशले पनि पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
सहलेशका जय गुरुङले कुनै गल्ती नगरि प्रहार गरेको पेनाल्टी प्रहार गोलमा परिणत भयो । घरेलुदर्शकको समर्थन पाएको पथरी–११ विरुद्ध खेलको ६९औं मिनेटमा समीर तामाङले एक गोल गर्नुभयो ।
फाइनल खेलमा जय गुरुङ म्यान अफ द म्याच घोषित हुनुुभयो । यस्तै उत्कृष्ट गोल रक्षकको उपाधि सलहेशका रेम्बो चौधरी, बेस्ट डिफेन्स सलहेशका प्रवेश दनुवार, बेस्ट मिडफिल्डर आयोजकका सञ्जय लिम्बू, बेस्ट प्रशिक्षक सलहेशका राजीव यादव,राइजिङ प्लेयर आयोजकका समीर क्षेत्री र सर्वाधिक गोलकर्ताको उपाधि सलहेशका रिचाडए विल्सन घोषित हुनुुभयो ।
उहाँहरूलाई जनही १० हजारसहित ट्रफी प्रदान गरियो । यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित हुँदै युकेश तामाङले १५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।