सुधा देव
भारदह(सप्तरी), कात्तिक २३ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहर बस्तीमा हैजा पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन् । हैजाको मुख्य श्रोत बस्ती नजिकै बग्ने भलुवाही खोलाको पानी र पोखरीको पानी रहेको पुष्टि भएको छ ।
समुदायमा हैजाबाट दुई बालबालिका सहित एकै परिवारको तीन जनाको मृत्युु भई हैजा र झाडापखालाको सङ्क्रमण बस्तीमा फैलिएपछि हैजाको श्रोत पत्ता लगाउन स्थानीय पालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी ७ वटा पानीको परिक्षण गराउँदा भलुवाही खोलाको पानी र पोखरीको पानीमा हैजाको जिवाणु भेटिएको छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, अहिले समुदायका प्रत्येक व्यक्तिलाई पोखरी र भलुवाही खोलाको पानी प्रयोग नगर्न जनचेतना फैलाउन र निगरानी गर्न बस्तीमा स्वंसेवकहरू खटाइएको छ । हाल झाडापखाला सङ्क्रमित १४ जनाको घरमै उपचार भई रहेको बिरामीको उपचारमा संलग्न डा.आनन्द सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, हामी स्वास्थ्यकर्मीले उपचारसँगै आवश्यक औषधी समेत वितरण गरिरहेका छौँ । ५३ जना बिरामी उपचारपछि घर फर्किसकेको उहाँले बताउनुभयो ।
गैरसरकारी संस्थाहरूको सहयोगमा निरन्तर सरसफाइ भइरहेको, ३० वटा फिल्टर वितरण गरि सरसफाइको विषयमा समुदायमा निरन्तर जनचेतना फैलाउँदै आएको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, पहिले भन्दा अहिले अवस्था सहज भएको छ । हामी निरन्तर लागिरहेका छौं । अहिलेको अवस्थामा आवश्यकता ठानेर ४ शय्या रहेको पालिकाको स्वास्थ्य चौकीमा ८ शय्या बनाएको उहाँले बताउनुभयो । यसअघि बिरामीको आरडिटी परिक्षण गर्दा हैजा पुष्टि भएपछि प्रादेशिक ल्यावमा दिसाको कल्चर गर्दा समेत हैंजा पुष्टि भएको थियोे ।
स्वास्थ्य बिभागले बिहीबारदेखि स्थानीय स्वास्थ्य चौकीमा एक जना एमबिबिएस डाक्टरलाई खटाएको छ । यता विपद् व्यवस्थापन समिति सप्तरी तयारी अवस्थामा रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
खुला दिसापिसाब मुक्त भैसकेको जिल्लामा बस्तीमै एउटा पनि शौचालय नहुनु,खुला आकाश मुनि दिसापिसाब गर्न बाध्य हुनु र स्वास्थ पानीको अभावमा झाडापखालाबाट हैजा फैलिएर तीन जनाको मृत्युु हुनु जिल्लाका लागि दुःखद रहेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवणकुमार देवले बताउनुभयो ।
तीन वटा मात्र चापाकल भएको मुसहर बस्तीमा बसोवास गर्ने ९० परिवारले भलुवाही खोलाबाट आएको पानी र पोखरीमा नुहाउने, भाडा मस्काउने र लुगा धुँदै आएका थिए ।