• २३ कात्तिक २०८२, आइतबार

तीन युवाद्वारा लमजुङ हिमालको आरोहण

blog

लमजुङ हिमाल आरोहण गरेका तीन युवा ।

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक २३ गते । गोरखाका तीन जना युवाले साहस, धैर्य र लगनशीलता प्रदर्शन गर्दै लमजुङ हिमाल आरोहण गरेका छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले ६ हजार ९८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरी लाप्राकको नाम उज्यालो पारेका छन् । 

मनाङ र कास्कीको सिमानामा रहेको उक्त हिमाल यसअघि सन् १९७४ मा पहिलो पटक बेलायती सेनाका डेरिक च्याम्बरलेन र फिलिप नियमिले आरोहण गरेका थिए । त्यसयता थुप्रै आरोहीहरूले पटक–पटक आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । 

तीन जना गोरखाका आरोही टोलीले अक्टोबर २७ तारिखका दिन दिउँसो ३ बजे लमजुङ हिमाल आरोहण गरेका थिए । लमजुङ हिमाल आरोहणका क्रममा कठोर हिमपात, हावाहुरी, शुन्यभन्दा तलको तापक्रमबिच तीन जना युवाहरूको टोलीले अटल साहस प्रदर्शन गर्दै लमजुङ हिमालको शिखरमा सफलतापूर्वक पाइला टेक्न सफल भएका हुन् । 

हामी ३ जना युवाको लक्ष्य केवल हिमाल चढ्ने मात्र थिएन, आरोही दलका सन्दिप गुरुङले भन्नुभयो, ‘लाप्राकका युवामा साहस र सम्भावनाले चेत जगाउनुका साथै कठिन परिस्थितिलाई जित्दै हामीले यो सफलता प्राप्त गरेको उहाँको भनाइ छ ।’

३ जना आरोहीले हिमाल चढाइलाई देशभक्तिको प्रतीक र आत्मविश्वासको नयाँ अध्यायको रूपमा लिएकाले लमजुङ हिमालको शिखरमा पुगेर राष्ट्रिय झण्डा र गाउँको नाम अङ्कित ब्यानर फहराएका थिए । 

हिमाल आरोहणका क्रममा हिउँ, चिसो, र अक्सिजनको कमीजस्ता चुनौतीहरू सामना गर्दे अदम्य साहस र आत्मबलले गर्दा लमजुङ हिमाल आरोहण सफल भएपछि सुरक्षित रूपमा आधार शिविर फर्किएको र हाल सबै सदस्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

लमजुङ हिमाल यो पर्वतारोहण क्षेत्रको ऐतिहासिक आरोहण हो, आरोही सन्दिप गुरुङले भन्नुभयो, ‘५१ वर्षमा थुप्रै आरोहीले लमजुङ हिमाल आरोहणको लागि प्रयास गरेका थिए, तर सफल हुन भने सकेनन् । हाम्रो टोली पहिलो प्रयासमा सफल भयौं ।’

लमजुङ हिमाल मनाङ र कास्कीको सिमानामा अवस्थित सुन्दर तर चुनौतीपूर्ण पर्वत हो, जसको उचाइ ६ हजार ९८३ मिटर रहेको छ । नेपाली आरोहीहरूले कमै सङ्ख्यामा यो हिमालको सफल आरोहण गरेका छन् । यस पटक गोरखा लाप्राकका युवाले गरेको सफलता गोरखा र समग्र देशकै गौरबको विषय बनेको छ ।