• २३ कात्तिक २०८२, आइतबार

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

blog

अलैँची टिप्दै किसान । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, कात्तिक २३ गते। ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) को एक लाख रुपियाँ नाघेको छ । यसअघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतबार ४ हजार रुपियाँले बढेर प्रतिमन एक लाख २ हजार रुपियाँमा कारोबार भएको हो । 

अलैँची व्यवसायी कमल बरालका अनुसार आइतबार चलन चल्तीकै अलैँची प्रतिमन एक लाख २ हजार रुपियाँका दरले खरिद गरेको जानकारी दिनुभयो । बरालका अनुसार शनिबार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैँचीको मूल्यमा अपरान्हबाट प्रतिमन २ हजार रुपियाँका दरले वृद्धि भई ९८ हजार रुपियाँ प्रतिमन पुगेको थियो । 

यता, अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले चलन चल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको जानकारी दिनुभयो । आइतबार गुणस्तरीय अलैँची प्रतिमन एक लाख २ हजार रुपियाँका दरले कारोबार भएको रेग्मीले बताउनुभयो ।  

असोज दोस्रो सातासम्म ८५ हजार प्रतिमन कायम रहेको अलैँचीको मूल्यमा एक महिनाको अन्तरालमा प्रतिमन १५ देखि १७ हजार रुपियाँसम्म वृद्धि भएको देखिएको छ । नयाँ उत्पादनको सुरुमै ८० हजार प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीले मूल्य राम्रो मूल्य पाइरहेको छ । अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हुनाले मूल्यमा उतारचढाव आउनु सामान्यजस्तै भइसकेको व्यवसायीहरू बताउँछन् । 

प्रमुख नगदेबालीको रूपमा लिइने अलैँची तल्लो भेगका किसानहरूले बजारमा लगिसके पनि लेकाली (माथिल्लो भेग) का किसानहरू अहिले सुकाउनमा व्यस्त छन् । पछिल्लो समय अलैँचीले भाउ पाउँदा किसानहरू उत्साहित भएको मेरिङदेन गाउँपालिका–४, लिङ्तेपका अलैँची किसान प्रविन हाङ्गाम बताउनुहुन्छ ।