• २६ भदौ २०८१, बुधबार

निःशुल्क कम्पनी दर्ता कार्यान्वयनमा आउने

blog

काठमाडौँ, साउन १ गते ।  निःशुल्क नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि आगामी साउन पहिलो सातादेखि कार्यान्वयनमा आउने भएको छ । 

आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सो कार्यक्रम साउन पहिलो सातादेखि कार्यान्वयनमा आउने भएको हो । कार्यक्रम कार्यान्वयन गर्नका लागि अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत दिइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ । 

कार्यालयका रजिस्ट्रार महेश बरालले बजेटमा भएको घोषणा अनुसार अनलाइनबाट कम्पनी दर्ता पुँजीको कार्यान्वयन साउनको पहिलो सातादेखि कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । साउन १ गतेदेखि नै लागु हुने गरी अर्थ मन्त्रालयले स्वीकृत दिई मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरिएको छ । निःशुल्क नयाँ कम्पनी दर्ता गर्ने र पुँजी वृद्धि गर्ने सेवाग्राहीलाई सहज हुने भएको छ । कम्पनी दर्ता र पुँजी वृद्धि निःशुल्क गर्दा वार्षिक २२ करोड रुपियाँ बराबरको राजस्व भने कमी हुने उहाँले बताउनुभयो । कम्पनी दर्ता र पुँजी वृद्धि गर्न नयाँ सफ्टवेयर बनाएर केही फिचर थपिएको उहाँले जानकारी दिनुभयो । 

नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ । यसअघि ९० प्रतिशत काम अनलाइनबाट हुँदै आएकामा साउनदेखि पूर्ण रूपमा अनलाइनबाट काम हुने बरालले जानकारी दिनुभयो  ।

कम्पनीहरूले आफ्नो विवरण पेस गरेपछि कम्पनी दर्ता, सेयर लगतलगायतका कम्पनी विवरणसँग आवश्यक कागजपत्र कम्पनीहरूको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा पुँजी वृद्धि प्रयोजनका लागि कार्यालयमा आइरहनुपर्ने बाध्यता हट्ने कार्यालयले जनाएको छ । कार्यालयले दर्ता भइसकेको कम्पनीको विवरण अनलाइन प्रक्रियामार्फत अद्यावधिक गर्न सूचना जारी गरेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लगत, सेयर सदस्य र विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बरलगायतका विवरण पेस गर्नुपर्ने कार्यालयले जनाएको छ । 

हाल अनलाइनबाट कम्पनी दर्ता गरे पनि अद्यावधिक गर्न, पासपोर्ट हराएमा, पुँजी वृद्धि गर्न कार्यालयमा स्वयम् उपस्थित हुनुपर्ने अवस्था छ । अब भने सबै काम अनलाइनबाट हुने भएकाले कार्यालय आउनुपर्ने अवस्था हट्ने छ । 

यसले गर्दा पर्याप्त जनशक्ति आवश्यक नपर्ने, कर्मचारीले निजी स्वार्थ पूर्ति गर्न पाउने अवस्था पनि अन्त्य हुने छ । यसअघि कम्पनी दर्ता गर्दा शुल्क लाग्नुका साथै झन्झटिलो प्रक्रिया रहेकामा त्यसलाई निःशुल्क गरिएको हो । 

कम्पनी ऐन, २०६३ अनुसार एक लाखसम्मको अधिकृत पुँजी भएको प्राइभेट कम्पनी दर्ता गर्न एक हजार र १० करोड रुपियाँ अधिकृत पुँजी भएको कम्पनी दर्ता गर्न ४३ हजार रुपियाँ शुल्क लाग्ने छ । कम्पनीको पुँजी अनुसार फरक फरक शुल्क निर्धारण गरिएको छ । यस्तै पब्लिक लिमिटेड कम्पनीका लागि एक करोड अधिकृत पुँजी भएको कम्पनीलाई १५ हजार, ४० करोडदेखि ५० करोड अधिकृत पुँजी भएको कम्पनी दर्ताका लागि एक लाख ६० हजार रुपियाँ र ५० करोड अधिकृत पुँजी भएमा प्रतिएक करोडको तीन हजारका दरले दस्तुर लाग्ने व्यवस्था छ । कार्यालयका अनुसार हालसम्म प्राइभेट र पब्लिक गरेर तीन लाख आठ हजार ३३३ कम्पनी दर्ता भएका छन् । गत वर्षको तुलनामा यो वर्ष कम्पनी दर्तामा कमी आएको कार्यालयले जनाएको छ ।

न्यूनतम एक सय रुपियाँ मात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिने व्यवस्था गरिएको छ । अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइने बजेटमा व्यवस्था गरिएको छ ।