• १ कात्तिक २०८२, शनिबार

रुरुको राष्ट्रपति रनिङ्गशिल्ड छैठो पटक पनि जनबोधको कब्जामा

blog

रुरुक्षेत्र गाउँपालिकाको राष्ट्रपति रनिङ्गशिल्ड बिजेता जनबोध मावि । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक १ गते ।
रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ्गशिल्ड जनबोध माविले जितेको छ । अहिलेसम्म जनबोधले लगातार छ पटक राष्ट्रपति रनिङ्गशिल्ड जितेर शिल्ड कब्जा गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको घ्युबेँसी खेल मैदानमा गत असोज २९ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा १४ स्वर्ण, चार रजत र पाँच कास्य गरेर २३ पदकसहित जनबोध माविले राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो ।

त्यस्तै, ग्वादी माविले सात स्वर्ण, एक रजत र ११ कास्य गरेर १९ पदकसहित द्वितीय स्थान प्राप्त गरेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । जनज्योति माविले पाँच स्वर्ण, ११ रजत र तीन कास्य गरेर २१ प्दकसहित तृतीय स्थान प्राप्त गरेको छ । प्रथम जनबोध माविले नगद १० हजार रुपियाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

त्यस्तै, द्वितीय स्थान प्राप्त गरेको ग्वादी माविले नगद सात र तृतीय हुने जनज्योति माविले नगद पाँच हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको प्रमुख अतिथी लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य कमलराज श्रेष्ठले खेल क्षेत्र युवाहरुको चाहाना र भावाना भएकाले राज्यले निरन्तर योजना र लगानीमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भविष्यका राम्रा खेलाडी उत्पादन हुने पहिलो बिन्दु विद्यालय भएकाले उनीहरुको प्रतिभा पहिचान हुने प्रतियोगीताहरुलाई निरन्तरता दिनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जनबोध माविको निरन्तरको सफलताबाट अरु बिद्यालयहरुले पनि प्रतिस्पर्धामा उतार्न जरुरी रहेको बताउनुभयो । जनबोध शिक्षा, पूर्वाधार र खेलक्षेत्रमा समेत अब्बल गाउँपालिकाको नमुना विद्यालय भएको ज्ञवालीले बताउनुभयो ।