• १९ वैशाख २०८१, बुधबार

पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

blog

काठमाडौँ, असार २८ गते । नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपियाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिनुभयो । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो । 

पर्याप्त भण्डारण स्थल नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण ट्याङ्क निर्माण गरिएको निगमले जनाएको छ । १० हजार किलोलिटर क्षमताको दुई वटा भण्डारण गृह थपिएसँगै पोखरामा डिजेल भण्डारण एक महिनालाई पुग्ने ठाकुरले जानकारी दिनुभयो । हाल एक सातालाई मात्र डिजेलको भण्डारण रहेको थियो । 

नेपाल आयल निगमले गण्डकी प्रादेशिक कार्यालय मातहतको निगम डिपोमा हाल पाँच सय किलोलिटर पेट्रोल र डिजेल दुई हजार पाँच सय किलोलिटर क्षमताको भण्डारण गृह रहेको थियो ।  

निगमको इतिहासमा दुई दशकपछि भण्डारण क्षमता विस्तार भएको छ । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन । इन्धन भण्डारण गृह नहुँदा इन्धन आपूर्तिमा अवरोध हुँदा बजारमा अभाव हुने गरेको थियो । 

पोखराबाट गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङ्जाका पम्पमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिन्छ । पोखरामा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुन्छ ।

निर्माणको काम समानान्तर, रेलिगियर र भारत ट्याङ्कले गरेका हुन् । भण्डारण स्थलमा आगजनी भए वा धुवाँ निस्केमा स्वचालित मेसिनबाट अग्नि नियन्त्रण गर्ने प्रविधिसमेत जडान गरिएको छ । भण्डारण गृहको निर्माणको काम तीन वर्षअघिदेखि सुरु भएको थियो । निगमले विभिन्न ठाउँमा इन्धन भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढिरहेको छ ।

चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो । 

यसैबिच निगम मधेश प्रादेशिक कार्यालय अमलेखगन्जमा दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत चार लाख किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माणका भइरहेको कार्यालयले जनाएको छ । 

फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्लुएस सिस्टम तथा पिएमसिसी कक्ष निर्माणको कामअघि बढाएको कार्यालयले जनाएको छ ।  सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखित इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको कार्यालयले जनाएको छ । दुई पेट्रोल ट्याङ्कमध्ये एउटा  निगम र अर्को ट्याङ्क इन्डियन आयल  कर्पोरेसनको लागतमा निर्माण भइरहेको छ । 

कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले पेट्रोल र डिजेल राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गरिदिने सम्झौता भएको जानकारी दिनुभयो । 

निर्माणको काम सकिएपछि पेट्रोल, डिजेल र मटितेल गरी तीन वटै पदार्थको आयात पाइपलाइनबाटै हुन्छ । हाल डिजेल मात्र आयात हुने गरेको छ । आगामी डिसेम्बरसम्ममा काम सकिने र नयाँ वर्ष २०२४ जनवरीदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गरिने बताइएको छ ।  

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने निगमले जनाएको छ ।