• १९ असार २०८१, बुधबार

छाता एक छनोट अनेक

blog

काठमाडौँ, असार १७ गते । घामको प्रचण्ड तापमा होस् वा मुसलधारे वर्षा मानिसले छाताको ओत सहज मान्छन् । अझ नेपाली समाजमा त विवाह, व्रतबन्ध, जात्रा, स्वागत, सम्मान जस्तो शुभकार्यमा होस् वा मृत्यु संस्कारमा वा अन्य सङ्कट हरणका लागि गरिने दान धर्ममा छाता अनिवार्य नै मानिन्छ । 

जसरी छाताको उपयोग र प्रयोजनका अवसर फरक छन् । छाताका रङ, डिजाइन र आकार, मूल्य पनि फरक फरक पाइन्छ । त्यति मात्र पनि होइन उमेर समूह वा वर्ग अनुसार छाताको छनोटमा अनेकता देखिन्छ । 

पछिल्लो समय त छालाको स्वास्थ्यमा अलि बढी ध्यान दिनेले त जुन मौसममा पनि छाताको ओत लागेर हिँडेको पाइन्छ । विशेष गरी युवती र कामकाजी महिला छाताको ओत लिएर हिँड्नु फेसन नै भएको छ । गर्मी होस् या जाडो छाता आफूसँग कहिल्यै नछुट्ने बताउनुहुन्छ मोडल सनिसा भट्टराई । उहाँ भन्नुहुन्छ, “छाताले अनुहारलाई सुरक्षित राख्छ र शीतलता पनि दिन्छ। अनि किन बोक्न आनाकानी गर्नु ।” उहाँलाई फरक फरक रङ र डिजाइनका छाता सङ्ग्रह गर्न मन पर्ने बताउनुहुन्छ । 

त्यस्तै वेब स्कुलकी विद्यार्थी माला शर्मा झोलामा छाता बोक्न कहिल्यै नबिर्सने बताउनुहुन्छ । उहाँको रोजाइमा फूलबुट्टे छाता पर्छन् । त्यस्ता छाताले अन्य छाताभन्दा बढी शीतलता प्रदान गरेको अनुभूति हुने उहाँको भनाइ छ । 

ग्राहकको यस्तै चाहना र रोजाइ बुझेर नै नेपाली बजारमा विभिन्न देशबाट थरी थरीका छाता भित्रिएका छन् । बिक्री भइरहेका छन् । ग्राहकहरूले शुभसाइतमा प्रयोग गर्न ठुला रङ्गिन र झलरयुक्त छाताको खोजी गर्ने र दान धर्मका कार्यका लागि भने प्रायः कालो रङका छाताको खोजी गर्ने गरेको इन्द्रचोकको गल्लीमा व्यापार गर्दै आउनुभएकी राधिका पाण्डे बताउनुहुन्छ । त्यस्तै पुरुषले प्रायः साधारण रङका अलि ठुला आकारको छाता रुचाउँछन् भने युवती वा महिलाले रङ्गिन, दोबारेर राख्दा सानो साइज बन्ने छाता रुचाउने गरेको उहाँको अनुभव छ । स्कुल जाने ससाना केटाकेटीका लागि अझै विभिन्न डिजाइन र रङका छाता बजारमा उपलब्ध भएको उहाँ बताउनुहुन्छ । व्यापारी पाण्डे छाताका डिजाइन, आकार टिकाउपनका आधारमा १५० देखि एक हजार पाँच सय रुपियाँसम्म पर्ने बताउनुहुन्छ । 

बानेश्वरमा रहेको मिड वे फेसनका सञ्चालक राजु ताम्राकार छाताको बजार सदावहार नै रहने बताउनुहुन्छ । बर्सात्मा अलि बढी खोजी हुन्छ । अचेल ग्राहकको रोजाइ टिकाउभन्दा पनि सस्तो मूल्यको खोजीमा बढी भौँतारिने गरेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ “विशेष गरी महिलाहरू जसरी एउटै कपडा धेरै पटक लगाएर हिँड्न चाहँदैनन् त्यसै गरी छाता पनि फेरिरहन र डिजाइन डिजाइनका ओढेर हिँड्न खोज्छन् । त्यसैले टिकाउभन्दा सस्तो खोज्छन् ।”बजारमा नेपालमा नै उत्पादन भएका छाता खासै भेटिँदैनन् । चीन, भारत, हङकङबाट आयात गरिएका छाताले बजार लिएको छ । अहिले बजारमा आयल पेपर, कटन, सिल्क, प्लास्टिक, नाइलनबाट बनेका छाता पाइन्छन्  । त्यस्तै लामो डन्डी भएको, दुई वा तीन पटकसम्म दोबारेर राख्न मिल्ने साना आकारका, सादा, बुट्टेदारलगायतका छाता उपलब्ध छन् ।  

हरेक वर्षको १० फेब्रुअरीमा छाता दिवस मनाउने पनि गरिन्छ। छाताको सुरुवात भने चीनबाट भएको पाइन्छ। पहिलो पटक बेलायतको लन्डन सहरस्थित अक्सफोर्ड गल्लीमा छाताको पसल खुलेको इतिहास पाइन्छ । जेम्स स्मिथ एन्ड सन्सको नाममा खुलेको त्यही पसलबाट छाताको बजार विस्तार भएको इतिहास पाइन्छ ।  

छाताका डिजाइनलाई परिष्कृत गर्ने कार्यमा जापान अगाडि देखिन्छ । जापानको आसाई पावर सर्भिस नामक एक आइटी कम्पनीले मानिसको चालसँगै ओत दिँदै उड्ने स्वचालित छाता तयार गरेको छ । त्यस्ता छातालाई ड्रोनको सहायतामा चलाइन्छ । मानिसले हातले समाइरहनुपर्ने झन्झट नहुने कम्पनीले जनाएको छ । पाँच किलो तौल भएको यो छाता पाँच मिनेटसम्म उड्न सक्ने कम्पनीले जनाएको छ ।