• १५ चैत २०८२, आइतबार

‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’

blog

टीकापुर समाचारदाता

टीकापुर, चैत १५ गते । ‘टीकापुर साहित्य महोत्सव–२०८२’ शुक्रबारदेखि सुरु भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको त्रिदिवसीय महोत्सव यस पटक ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ । महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्तले साहित्य महोत्सवमा भाषा, साहित्य, समाज विज्ञानका विविध विषयमा हुने छलफलले विश्वविद्यालयलाई पनि सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले टीकापुर सहित्य महोत्सवले थारू साहित्य, संस्कृतिलाई प्रवर्धन गर्ने र यहाँबाट आएका कुरा प्रतिष्ठानले सम्बोधन गर्ने बताउनुभयो । डा. जोशीले भन्नुभयो, “प्रतिष्ठानले भाषा साहित्यको विकासका लागि काम गरिरहेको छ वैशाखमा धनगढीमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको तयारी भइरहेको छ ।”

सङ्गीतकार रेसमलाल चौधरीले थारू समुदायको कला संस्कृतिलाई विषयवस्तु बनाएर लेखन कार्य गर्ने महेशविक्रम शाहका कारण सहित्य महोत्सव सम्भव भएको बताउनुभयो । महोत्सवका संयोजक महेशविक्रम शाह सामाजिक विद्रोहलाई लेखनीमार्फत साथ दिने लेखकका रूपमा आफूले लिएको बताउनुभयो । महोत्सवमा कविता प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो । प्रथम पुरस्कार चेतना शर्मा, द्वितीय पुरस्कार उद्गम मिसन र तृतीय पुरस्कार स्वीकृति शर्मालाई प्रदान गरिएको थियो । महोत्सवमा भाषा, साहित्य, कला, सङ्गीत र समसामयिक मुद्दामा आधारित २७ वटा विभिन्न सत्र सञ्चालन हुने आयोजकले जनाएका छन् ।