• १५ चैत २०८२, आइतबार

बहुप्राविधिक शिक्षालय निर्माण सुरु

blog

बहुप्राविधिक शिक्षालयको भवन शिलान्यासमा पुगेको टोली । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), चैत १५ गते । जुम्लाको सिँजा गाउँपालिका–६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले सिँजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न २०७९ साल माघमा स्वीकृति प्रदान गरेको हो । बहुप्राविधिक शिक्षालय स्थापनाको स्वीकृत पाएपछि पहिलो चरणमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख बजेटको भवन निर्माण हुन थालेको हो । 

बहुप्राविधिक शिक्षालयका लागि २४ वटा भवन निर्माण गर्नुपर्ने हो । जसको डिपिआरमा ७८ करोड बजेट खर्च लाग्ने उल्लेख गरिएको छ । सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार बहुप्राविधिक शिक्षालयका लागि विगत तीन वर्षदेखि निरन्तर पहल गरिरहेको बताउनुभयो । भारतीय दूतावाससँग पनि डेढ वर्षदेखि १९ करोड बजेटका लागि पहल भएको छ । भारतीय दूतावासमा आवश्यक कागजातसहित प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।  

भारतीय दूतावासले १९ करोड बजेट लगानी गरेपछि गाउँपालिकाले त्यो बजेटको पाँच प्रतिशत अर्थात् करिब तीन करोड बजेट लगानी गर्नुपर्ने सर्त राखेको छ । सोहीबमोजिम पहल भइरहेको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो । बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । जग्गा पास गर्दा पालिकाले राजस्वमा बजेट लगानी गरेको छ । 

पालिकाले नै लगानी गरी शिक्षालय स्थापना गर्न सक्ने अवस्था छैन । जनप्रतिनिधि र कर्मचारीका हैसियतले हामीले आवश्यक कागजात पु¥याउने र तत् तत् कार्यालय तथा मन्त्रालयमा भौतिक रूपमै पुगेर समन्वय गर्दै आएको उहाँले जानकारी गराउनुभयो । भाडगाउँको दिलौरी चौरमा प्राविधिक शिक्षालय स्थापना हुने छ । त्यसका लागि भाडगाउँका स्थानीयले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउने छन् । सरकारी लगानीमा दुर्गम भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहज हुने छ । सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाका अनुसार दुर्गम क्षेत्रमा बहुप्राविधिक शिक्षालय निर्माण हुनु र यहाँका विद्यार्थीले प्राविधिक शिक्षा प्राप्त गर्न पाउनु सुखद पक्ष भएको बताउनुभयो ।