• १५ चैत २०८२, आइतबार

पूर्वगृहमन्त्री रमेश लेखक अदालतमा उपस्थित

blog

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदै ।

काठमाडौँ, चैत १५ गते । शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वगृहमन्त्री लेखकलाई शनिबार भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले उहाँलाई आज अदालतमा उपस्थिति गराइएको हो।

त्यसैगरी, आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गराइँदै छ।

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन हिंसात्मक भएको घटनामा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। सो घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। आन्दोलनको क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

जाँचबुझ आयोगको सिफारिसका आधारमा यही चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सो निर्णयसँगै चैत १४ गते बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।