हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत १५ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नामासुङका कृषक पासाङ गुरूङ व्यावसायिक र आधुनिक कृषितर्फ आकर्षण हुनुभएको छ । जलवायु परिवर्तनका कारण १८ वर्ष अगाडि सम्जुङ गाउँबाट विस्थापित भएर नामासुङमा बसाइसराइ गर्नुभएको पासाङ अन्नपूर्ण संरक्षण आयोजना एक्याप इलाका कार्यालय लोमान्थाङको कृषक पाठशालाका माध्यमबाट कृषि खेतीमा आर्कषित हुनुहुन्छ । पासाङजस्तै स्थानीय छेवाङ टसी गुरूङले कृषि, पशुपालनसँगै स्याउ खेती समेत लगाउनुभएको छ ।
कृषक पाठशालामार्फत हुने हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउने स्थानीयले जलवायु परिवर्तनका कारण झेल्नु परेको प्राकृतिक प्रकोपका कारण अबका दिनमा सास्ती खेप्नुनपर्ने गरी उन्नत बाली, फलफूल खेतीसँगै कृषि तथा पशुपालनमा सक्रिय छन् । आधुनिक कृषि तथा फलफुल खेतीको विधि र प्रक्रिया सिक्न पाएपछि स्थानीय उत्साहित छन् । नामासुङ गाउँमा एक्याप र लोमान्थाङ गाउँपालिकाले कृषि, पशुपालन र फलफुल खेतीमा बर्सेनि सहयोग गर्ने गरेको छ । १८ घरधुरीलाई स्थानीय पराम्परागत कृषि प्रविधिमा आधुनिकता, उन्नत तथा माटो सुहाउँदो उत्पादनलाई प्रोत्साहन गर्ने गरी नियमित सहयोग गर्ने गरिएको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो ।
‘‘सैद्धान्तिक र प्रयोगात्मक ज्ञानमार्फत आधुनिक कृषि खेतीमा जोड दिएका छौँ, स्थानीय र उन्नत जातको बालीको उत्पादनमा पूराना कृषकको अनुभवसहित तुलनासमेत गर्ने गरिएको छ ।’’ स्थानीय कृषकको क्षमता अनुसारको कृषि खेतीलाई प्रोत्साहन सहित अनुदानमा समेत प्राथमिकता दिएको प्रमुख पौडेलको भनाइ छ । नामासुङमा आलु, उवा, स्याउ खेतीको सम्भावना धेरै भएकाले खेतबारीलाई पाठशाला बनाएर सञ्चालित तालिमहरू प्रभावकारी देखिएको छ । स्थानीय गाउँ मुखिया पेमा छिरिङ गुरूङले खेतबारीलाई सिक्ने र सिकाउने थलो बनेकाले छोटो समयमा प्रगति भएको बताउनुभयो ।
एक बाली हुने उपल्लो मुस्ताङमा परम्परागत कृषि खेतीलाई रूपान्तरण गर्न बाली लगाउने तरिका, बिउ छनोट, नर्सरी र जमिनको व्यवस्थापनमा सघाइरहेको मुखिया गुरूङको भनाइ छ । राष्ट्रिय गौरवको जोमसोम–कोरला मुख्य सडकमार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फ रहेको नामासुङमा सडकबाट करिब १० मिनेटको पैदलयात्रापछि पुगिन्छ । प्रत्येक घरधुरीलाई घर निर्माण गरी करिब १ सय रोपनीमा खेतीपाती गर्ने गरिएको छ । छोसेर खोलाको कटानबाट बस्ती संरक्षणसहित नियमित स्वास्थ्य परीक्षण लगायतका कार्यहरू समेत गर्ने गरिएको छ ।