• १५ चैत २०८२, आइतबार

बेसार र अदुवा प्रवर्धन गर्न बिउमा अनुदान

blog

मकवानपुरगढी गाउँपालिकाको कार्यालय । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत १५ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्धन गर्नका लागि बिउमा ५० प्रतिशत अनुदान दिने भएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बेसार र अदुवा प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

पालिकाले ४ नंं वडाका कृषकलाई लक्षित गर्दै अदुवा प्रवर्धन र ५ नं. वडालाई लक्षित गर्दै बेसार खेती प्रवर्धन गर्न गर्न आह्वान गरेको छ । 

प्रदेश सशर्त अनुदान अन्तर्गत सञ्चालन हुन लागेको यस कार्यक्रमका लागि गाउँपालिकाले अदुवा प्रवर्धन कार्यक्रमका लागि चार लाख ५० हजार र बेसार प्रवर्धन कार्यक्रमका लागि चार लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

 स्थानीय तहमा सशर्त अनुदान अन्तर्गत कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम छनोट भएका कृषक वा फर्मले अदुवाको बिउमा ५० प्रतिशत अनुदान प्राप्त गर्ने छन् ।

अदुवा खेती कार्यक्रम विशेष गरी मकवानपुरगढी गाउँपालिका वडा नं. ४ र बेसार खेती प्रवर्धन कार्यक्रम ५ नं. वडा भित्रका लागि मात्र लक्षित छ ।

वडा नं.४ र ५ मा दर्ता भई सञ्चालनमा रहेका व्यक्तिगत कृषक तथा कृषक समूह, कृषि सहकारी तथा बहुउद्देश्यीय सहकारी र निजी कृषि फर्म तथा कम्पनीले यस कार्यक्रममा सहभागी हुन आवेदन दिन सक्ने कृषि शाखा प्रमुख गोपालप्रसाद लम्सालले जानकारी दिनुभयो ।