अनिल पराजुली
हेटौँडा, चैत १५ गते । स्थानीय स्तरमा खेर जाने केराको खम्बाबाट निकालिएको रेसाबाट नेपाली हाते कागज उत्पादन गरी मकवानपुरगढीका एक युवाले करिब छ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।
मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडाका प्रेमबहादुर तिमल्सिनाले विगत दुई वर्षदेखि हाते कागज उत्पादन गर्दै आउनुभएको छ । उहाँले पहिलो वर्ष तीन लाख र दोस्रो वर्ष पनि तीन लाखभन्दा बढी आम्दानी गर्नुभएको बताउनुभयो ।
“दुई वर्षको अवधिमा करिब छ लाखभन्दा बढीको कागज बिक्री गरेँ, अहिले कागजको माग धेरै आएको छ, उत्पादन गर्न भ्याइनभ्याई भएको छ,” तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार कागज उत्पादन कार्यमा आमा र श्रीमतीले समेत सहयोग गर्दै आउनुभएको छ ।
करिब आठ लाख रुपियाँ लगानीमा उद्योग दर्ता गरी सञ्चालनमा ल्याउनुभएका तिमल्सिनाले केराको बोटबाट रेसासँगै झोल मल र ठोस मलसमेत उत्पादन गर्दै आउनुभएको छ । गत वर्ष उत्पादन गरिएको कागज गाउँपालिकाले कार्यालय प्रयोजनका लागि खरिद गरेको थियो । यस वर्ष पनि माग आएको उहाँले जानकारी दिनुभयो । “बजारको अभाव छैन, यहाँ उत्पादन भएको कागज हेटौँडा बजारमा धूप बनाउन प्रयोग गर्ने व्यवसायीहरूले खरिद गर्ने गर्नुभएको छ,” उहाँले भन्नुभयो ।
सामान्यतया एउटा केराको बोटबाट करिब आधा किलो फाइबर निस्कने र त्यसबाट करिब २५ वटासम्म कागज उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । हाल दैनिक पातलो र बाक्लो गरी करिब दुई सय थान कागज उत्पादन भइरहेको छ । कागजको माग बढ्दै गएपछि कच्चा पदार्थको आवश्यकता पनि बढेकाले गाउँमै रहेको बाँझो जमिनमा व्यावसायिक केरा खेती गर्ने योजना बनाएको तिमल्सिनाले बताउनुभयो ।
सात वर्ष वैदेशिक रोजगारीका लागि साउदी अरबमा बसेर फर्किएका ३६ वर्षीय तिमल्सिनाले गाउँमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले सरकारले युवा उद्यमीलाई थप प्रोत्साहन दिए यस्ता कार्यमा अझै उत्साह थपिने धारणा व्यक्त गर्नुभयो ।